न्यूरोड ब्लास्टर्सलाई भेट्रान सुपर सिक्स क्रिकेट उपाधि

न्यूरोड ब्लास्टर्सले मिराकल ग्लाडियटर्सलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो

जनसम्मत
फागुन ४, २०७६, आइतबार

पोखरा । न्यूरोड ब्लाष्टर्सले पोखरामा सम्पन्न भेट्रान सुपर सिक्स क्रिकेटको उपाधि जितेको छ ।

माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा संचालित प्रतियोगिताको शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनलमा न्यूरोड ब्लास्टर्सले मिराकल ग्लाडियटर्सलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

न्युरोडले व्याटिङ गर्दै ७६ रन बनाएको थियो । रिजन प्रजुले न्यूरोडका लागि सर्वाधिक २२ रनको योगदान दिए । त्यस्तै, विधान श्रेष्ठले १९ रन थपे । विजय राउतले १० रनमात्रै जोडे । मिराकल ४९ रनमै समेटिएपछि न्यूरोडको जित पक्का हुन पुग्यो । मिराकलका लागि नुर इष्लामले मात्रै २८ रनको योगदान दिएका थिए ।

प्रतियोगितामा न्यूरोडले सांग्रिला भेट्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । फाइनलको ‘म्यान अफ दी म्याच’ रिजन प्रजु घोषित भए । ‘म्यान अफ दी सिरिज’ भने न्यूरोडका विधान श्रेष्ठ भए । उनले ८३ रन र ३ विकेट लिएका थिए ।

प्रकाश क्षत्रीको कप्तानीमा रहेको स्याङ्जा रिवल्स, योगेश सुवेदीको कप्तानी रहेका फेवा वारियर्स, प्रकाश श्रेष्ठले नेतृत्व गरेको न्यूरोड ब्लाष्टर्स, दिपेन्द्रप्रताप चन्दको कप्तानीमा रहेको सांग्रिला भेट्रान्स, विरेन पुनको कप्तानीमा रहेको वाइन किङ फाइटर्स, दिपेश खत्रीको कप्तानीमा रहेको मिराकल ग्लाडियटर्सले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । ३० वर्ष माथिको उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा गराइएको यो पहिलो प्रतियोगिता हो ।

गत शनिबारदेखि आयोजना गरिएको प्रतियोगिताका विजेतालाई कास्की जिल्ला क्रिकेट संघका सचिव दिपेन्द्रप्रताप चन्द, संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङ, अम्पायर दीलिप अग्रहरी, पोखरा क्रिकेट एकेडेमी प्रालिका अध्यक्ष बमबहादुर कुँवर तथा नेपाल युवा खेलकुद विकास मञ्चका अध्यक्ष प्रदीप राउत लगायतले ट्रफी तथा पदक प्रदान गरे ।