नेपालकी प्रेरणा र भारतका अमन जुनियर यु–१८ टेनिस च्याम्पियन

जनसम्मत
फागुन ४, २०७६, आइतबार

पोखरा । नेपालकी प्रेरणा कोइराला र भारतका अमन दहिया विश्व वरीयता जुनियर यु–१८ सर्किट–२ टेनिसका च्याम्पियन बनेका छन् ।

अन्तराष्ट्रिय टेनिस फेडेरेसन (आइटीएफ)को विश्व वरीयताका लागि पोखरामा भएको खेलमा महिलाको एकलतर्फ प्रेरणा कोइराला च्याम्पियन बनेकी हुन् ।

पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रेरणाले नेपालकै अर्की खेलाडी अभिलाषा बिष्टलाई ६–२, ७–६ (४) र ६–१ ले हराउँदै च्याम्पियन बनेकी हुन् । ग्राण्डस्लाम अंकका लागि संचालित टुर्नामेन्टमा यस जितसँगै प्रेरणाले ३० अंक समेत जोडेकी छन् । उपविजेता बनेकी ग्राण्डस्लामका लागि १८ अंक जोडिन् ।

यसैगरी, पुरुषतर्फ भारतीय खेलाडी अमन दहियाले आफनै देशका जश्भीन सिडानालाई सोझो सेटमा पराजित गरे । दहियाले ६–४, ६–१ को सेटमा पराजित गर्दै सर्किट–२ को च्याम्पियन बने । च्याम्पियन बनेसँगै अमनले पनि ग्राण्डस्लामका लागि ३० अंक जोडेका छन् ।
नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सूर्य भुजेललगायतले विजेता खेलाडीलाई पुरस्कार प्रदान गरे ।

यसअघि, शुक्रबार महिलाको डबल्सतर्फ हङकङकी रिया उबोभेजा र भारतकी ईरिका कन्ना हगीको जोडीले भारतकी हगी पावर रुदया शाहको जोडीलाई ६–२, ६–४ र १२–१० ले हराउँदै उपाधि जित्न सफल भए ।

त्यस्तै, पुरुषको डबल्सतर्फ भारतका आदित्य वरदान राय चौधरी र जैश्भीन सिडानाको जोडीले भारतकै अमन दहिया र हीरक भोराको जोडीलाई ६– र ६–३ को सेटमा हराउँदै उपाधि जितेका थिए

अघिल्लो शनिबारदेखि शुरु प्रतियोगितामा १९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपाली १८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पोखरामा आयोजित जुनियर टेनिस यो दोस्रो पटक हो । अघिल्लो वर्ष यु–१४ सर्किट १ र २ को प्रतियोगिता पोखरा रंगशाला टेनिस कोर्टमा आयोजना गरिएको थियो । यु–१८ सर्किट–१ भने प्रतियोगिता काठमाडौंमा आयोजना गरिएको थियो ।