मच्छिन्द्र एफसी लिग च्याम्पियन

आर्मीले दिएको आत्मघाती गोलले नै मच्छिन्द्रलाई लिग च्याम्पियन बनायो, बराबरी खेलेपनि लिग च्याम्पियन बन्ने अवस्थामा रहेको आर्मीले ३३ औं मिनेटमा मच्छिन्द्रलाई आत्मघाती गोलको उपहार दिएको थियो

जनसम्मत
फागुन ४, २०७६, आइतबार

पोखरा । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ ।

शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो ।

आर्मीले दिएको आत्मघाती गोलले नै मच्छिन्द्रलाई लिग च्याम्पियन बनायो । बराबरी खेलेपनि लिग च्याम्पियन बन्ने अवस्थामा रहेको आर्मीले ३३ औं मिनेटमा मच्छिन्द्रलाई आत्मघाती गोलको उपहार दिएको थियो ।

आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । मच्छिन्द्रका रन्जित धिमालको फ्रीकिक बललाई हेडबाट क्लियर गर्ने क्रममा विकासले आफ्नै पोष्टमा गोल गरेका थिए ।

उनको त्यही गल्तिले आर्मीले लिग जित्ने इतिहास गुमायो । खेलमा आर्मीले बराबरी मात्रै गर्न सकेको भएपनि लिग उपाधि जित्ने अवस्थामा थियो । लिगभरी दुबै टोलीले समान प्रदर्शन गरेको भएपनि गत सिजन अन्तिम–२ मा रहेका कारण मच्छिन्द्रको यो सिजन एक अंकभार घटेको थियो ।

त्रिभुवन आर्मी क्लबका कप्तान तथा फरवार्ड भरत खवास सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उत्कृष्ट फरवार्ड बने । यस्तै, च्याम्पियन मछिन्द्रका विशाल राई ‘बी’ उत्कृष्ट मिडफिल्डर बने । थ्रीस्टारका अनन्त तामाङ उत्कृष्ट डिफेन्डर बने । मनाङका दीप कार्की उत्कृष्ट गोलकिपर घोषित भए ।

त्यस्तै, मच्छिन्द्रका प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक बने । उनीहरुले जनही १ लाख ५० हजार पुरस्कार पाए । एनआरटीका दर्शन गुरुङले लिगकै युवा खेलाडी बन्दै मणिविक्रम शाह स्मृति युवा खेलाडीको अवार्ड सहित १ लाख पुरस्कार जिते ।

साविक लिग विजेता मनाङ मस्र्याङ्दी क्लब यस पटकको लिगमा तेस्रो स्थानमा समेटियो । जारी लिगमा २८ अंकका साथ मनाङ तेस्रो स्थानमा रह्यो । जारी लिगको अन्तिम खेलमा जित निकाल्दै मनाङले सुखद अन्त्य गरेको थियो । मनाङले आफ्नो अन्तिम खेलमा जावलाखेल युथ क्लबमाथि १–० को जित निकाल्दै सुखद अन्त्य गरेको थियो ।

त्यस्तै, लिगमा ललितपुरे क्लब थ्रीस्टार २६ अंक सहित लिगको चौथो स्थानमा रह्यो । लिगको अन्तिम खेलमा थ्रीस्टारले च्यासल युथ क्लबमाथि २–० गोलले हराउँदै सुखद अन्त्य गरेको थियो ।