के. विलियम्स पनि पोखरा राइनोजमै अनुबन्ध

विलियम्सले एभरेष्ट प्रिमियर लिग सिजन–२०२० का लागि राइनोजमा अनुबन्धनको हस्ताक्षर गरे

जनसम्मत
फागुन ८, २०७६, बिहीवार

पोखरा । एभरेष्ट प्रिमियर लिगको यो सिजनका लागि तयारी गर्दै गरेको टिम पोखरा राइनोजले एकपछि अर्को चमत्कार देखाएको छ ।

राइनोजले फेरी वेष्ट इण्डिजका अर्का खेलाडीलाई आफ्नो टिममा अनुबन्धन गरेको छ । यसपटक राइनोजले वेष्ट इण्डिजका तीव्र बलर क्यास्रीक विलियम्सलाई आफ्नो टिममा समावेश गरेको हो । एक समारोहबीच विलियम्सले सिजन–२०२० का लागि राइनोजमा अनुबन्धनको हस्ताक्षर गरे ।

विलियम्सले वेष्ट इण्डिजका थुप्रै घरेलु प्रतियोगिताहरु खेलिसकेका छन् । क्रिकेटमा अनुभवी ३० वर्षिया तेज बलर विलियम्सले सन २०११ मा प्रथम श्रेणीको क्रिकेटमा प्रवेश पाएका थिए । सन् २०१६ मा उनले क्यारेवियन प्रिमियर लिगमा सर्वाधिक विकेट लिंदै सनसनी फैलाएका थिए । त्यसलगत्तै, सन् २०१६ मा उनले पाकिस्तानविरुद्ध टी–२० मा डेब्यु गरे । सन २०१७ मा भारतविरुद्धको खेलबाट विलियम्सले एक दिवसीय क्रिकेटमा डेब्यु गरेका हुन् । उनले ८ वटा एकदिवसीय खेलबाट ९ विकेट लिन सफल भएका छन् । त्यस्तै, उनले २५ वटा टी–ट्वान्टीको खेलबाट ४१ विकेटमा आफ्नो नाम लेखाइसकेका छन् ।

पोखरा राइनोजमा उनलाई अनुबन्ध गरेपछि राइनोजका वनर दीपा अग्रवालले आफू विलियम्सको ‘सेलिब्रेसन स्टाइल’ बाट प्रभावित भएको बताइन् । ‘विकेट लिएपछि नाच्दै खुशी मनाउने उनको स्टाइलनै गजबको छ,’ अग्रवालले भनिन्, ‘नेपालीहरु समेत उनको यही सेलिब्रेसनसँग रम्न तयार रहनुहोस् ।’

उनको आगमनसँगै आफ्नो टिम बलिङ र व्याटिङ दुवै पक्षमा बलियो भएको अग्रवालले बताइन् । यसअघि नै राइनोजले वेष्ट इण्डिजका ब्याट्स्म्यान क्रिस गेललाई आफ्नो टिममा अनुबन्धन गराएको थियो । जुन खबरले नेपाली क्रिकेट जगतमा हंगामै मचाएको थियो ।

तस्बीर : विलियम्स