खप्तड गोल्डकप भोलीदेखि

प्रतियोगितामा दुई विदेशीसहित ‘ए’ डिभिजनका ६ क्लब, १ आयोजक र ३ विभिन्न क्लब गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ

जनसम्मत
फागुन ८, २०७६, बिहीवार

पोखरा । चौथो संस्करणको सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप प्रतियोगिता शुक्रबार (भोली) देखि शुरु हुँदैछ ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बिहिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ।

शुक्रबार (भोली) देखि आगामी २० गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा दुई विदेशीसहित १२ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । जसमा ‘ए’ डिभिजनका ६ क्लब, २ विदेशी, १ आयोजक र ३ विभिन्न क्लब गरी १२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

समूह ‘ए’ मा आयोजक सुदूरपश्चिम–११, बाग्मती क्लब सर्लाही, कञ्चनजंघा एफसी भारत, नेपाल एपीएफ क्लब, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब रहेका छन् ।

समूह ‘बी’ मा रुस्लान थ्री स्टार क्लब, नवजन जागृति सिमरा, प्रभु जावलाखेल युथ क्लब, गोर्खा ब्वाइज, कोवा एफसी क्यामरुन र संकटा क्लब छन् ।

प्रतियोगिताको विजेताले २१ लाख १ रुपैँया र उपविजेताल १० लाख १ रुपैँया पुरस्कार राशी पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछ । अन्य विधाका उत्कृष्ट खेलाडीले समान १५/१५ हजार पाउनेछन् ।

प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ बन्न सफल खेलाडीले समान १०/१० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।