पोखरामा थप खेलकुदका संरचनाहरु बन्दै : सदस्य सचिव सिलवाल

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरामा सुटिङ रेञ्ज, हिटिङ स्वीमिङ पुल, क्रिकेट ग्राउण्ड र गल्फका संरचनाहरु निर्माण हुने सदस्य सचिव सिलवालको भनाई थियो

जनसम्मत
फागुन ९, २०७६, शुक्रबार

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले पोखरामा थप खेलकुदका संरचनाहरु निर्माण हुने बताएका छन् ।

पोखरामा सुटिङ रेञ्ज, हिटिङ स्वीमिङ पुल, क्रिकेट ग्राउण्ड र गल्फका संरचनाहरु निर्माण हुने सदस्य सचिव सिलवालको भनाई थियो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले गण्डकी प्रदेशमा आगामी वर्ष फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिसकेको समेत बताए ।

राष्ट्रिय खेलकुदमा गण्डकीका ११ जिल्लामध्ये १० मा कुनै न कुनै खेल हुने उनले बताए । राष्ट्रिय खेलकुद प्रतियोगितामा बढीमा ३५÷३६ खेल हुने उनले बताए । ‘नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर पोखरा रंगशालाभित्र बन्ने सुटिङ रेञ्जको संरचना निर्माणका लागि यसै हप्ता टेण्डर आब्हन गर्देछौं,’ सिलवालले दाबी गरे ।

स्वीमिङ पुलका लागि माटो परीक्षण गरिएको सिलवालले बताए । स्वीमिङ पुलका लागि पनि बैशाख महिनाभित्र टेण्डर आब्हन गरिने सदस्य–सचिवले जिकिर गरे । उनले भने, ‘वैशाख महिनाभित्रसम्ममा टेण्डर आब्हन गरेर स्वीमिङ पुलको निर्माण कार्य थालिनेछ ।’
यसै हप्ताबाट क्रिकेट ग्राउण्ड निर्माणका कार्य थालिने सिलवालको जिकिर थियो । पोखराकै पशुपतिघाटमा पनि क्रिकेट मैदान बनाउने सोंचमा रहेको सिलवालले बताए ।

उनले पोखरामा गल्फ कोर्षका निर्माण कार्य छिट्टै थाल्ने उल्लेख गरे । उनले भने, ‘अब, छिट्टै गल्फ कोर्षका काम थाल्नेछौं । दुइवटा मात्रै होलका लागि भएपनि प्राक्टिसका रुपमा गल्फ कोर्षका कामहरु गर्नेछौं ।’

‘पोखराको पृथ्वीनारायण क्याम्पसलगायत अमरसिंह स्कुल, अन्य सरकारी तथा निजी विद्यालय, सेना, प्रहरीमा रहेको खाली जमिनहरुलाई सदुपयोग गर्नेगरी खेलकुद संरचना निर्माणका लागि सोंच्दैछौं । सकिन्छ भने कास्कीको घान्द्रुक, सिक्लेस र धम्पुसमा पनि राष्ट्रिय खेलकुदको कुनै गेम गर्ने गरी संरचना निर्माण गर्न पाए हुन्थ्यो भन्ने लागेको छ,’ सिलवालले भने ।

सिलवालले घरेलु भुमीमै सम्पन्न सागपछि यतिखेर देशभर खेलकुदका धेरै गतिविधि जारी रहेको बताए । उनले यसबाट खेल, खेलाडीको विकास सहित आर्थिक गतिविधि चलायमान हुने बताए ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) को हिसाब–किताब ३ महिनाभित्र गरिसक्ने बताए । सागमा नेपालको प्राप्त उपलब्धीको सधैँ गीत गाएरमात्र नहुने भन्दै उनले अब नवौंमात्र नभई आफू १० औं राष्ट्रिय खेलकुदलाई हेरेर योजना बनाएको बताए । अब हुने ओलम्पिक खेलका लागि स्वीमिङ र सुटिङका खेलाडी प्रशिक्षणमा रहेको जानकारी दिए ।

उनले खेलकुदको भौतिक पूर्वाधार तथा खेल गतिविधिमा सक्रिय हुनेलाई रकम समेत उपलब्ध गराइने तर कामै नगरी बजेट माग्नेलाई दण्डसजायको दायरामा ल्याइने चेतावनी समेत दिए ।

निर्माणाधीन पोखरा रंगशाला आगामी चैतभित्र सम्पूर्ण निर्माण सम्पन्न हुने बताए । उनले भने, ‘अहिले कन्स्ट्रक्सन फेजमै छौं । आगामी चैतसम्म निर्माण पूरा हुनेछ ।’

त्यस्तै, आगामी फागुन २२ देखि हुने १८ औं संस्करणको आहारारा गोल्डकप समेत पोखरा रंगशालामै हुने जानकारी दिए । सहारा क्लबले आयोजना गर्ने १८ औं संस्करणको आहा ! रारा गोल्डकप रंगशालाका कारणले नरोकिने उनले दोहो¥याए ।

त्यसका लागि कम्तिमा १३ हजार सिट तयार भइसक्ने र बाँकी ३४ सय सिट समेत खेल अन्त्यसम्म निर्माण हुन सक्ने बताए । उनले भने, ‘आहा ! रारा गोल्डकप शुरु हुने मितिसम्म १३ हजार ५ सय सिट बन्नेछ । उक्त सिट क्षमताको फुटबल मैदानमा प्यारापीट बनाइदिन निर्माण कम्पनीलाई निर्देशन दिइ सकिएको छ । आयोजक सहारा क्लबलाई पनि आहा ! रारा गोल्डकप टुर्नामेन्ट नरोक्न आग्रह गरेका छौं ।’

पूर्वाधार निर्माणपछि संरक्षण आवश्यक रहेको भन्दै पोखरा रंगशाला प्रवेशमा कम्तिमा केही न केही शुल्क लिनुपर्र्ने व्यवस्था गर्नुपर्ने बताए । उनले बिजेनस कम्प्लेक्सको अवधारणासमेत रहेको बताए ।