मध्यनेपाललाई लमजुङको पालिकास्तरीय लिग भलिबल उपाधि

फाइनलमा मध्यनेपालले राइनास नगरपालिकामाथि २५–१९, २३–२५, २५–२१ र २५–१८ ले जित्दै पालिकास्तरीय भलिबलको उपाधि जितेको हो

जनसम्मत
फागुन ९, २०७६, शुक्रबार

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले लमजुङमा सम्पन्न दोस्रो पालिकास्तरीय लिग भलिबलको उपाधि हात पारेको छ ।

जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम बेसीशहरमा सम्पन्न पालिकास्तरीय भलिबल प्रतियोगितामा मध्यनेपालले फाइनलमा राइनास नगरपालिकालाई जितेर उपाधि हात पारेको हो ।

फाइनलमा मध्यनेपालले राइनास नगरपालिकामाथि २५–१९, २३–२५, २५–२१ र २५–१८ ले जित्दै पालिकास्तरीय भलिबलको उपाधि जितेको हो । उपाधिसँगै मध्यनेपालले ५० हजार र उपविजेता बनेको राइनास नगरपालिकाले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार जितेको छ ।

प्रतियोगितामा सेमिफाइनलिस्ट बेसीशहर नगरपालिका र मध्र्याङ्दी गाउँपालिकाले समान १०/१० हजार सहितको शान्त्वना पुरस्कार जित्यो । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले विजयी टिम र खेलाडीलाई पुरस्कार वितरण गरे ।

सो प्रतियोगितामा मध्यनेपाल नगरपालिकाका करण क्षत्री सर्वोत्कृष्ठ खेलाडी घोषित भए । यसैगरी, मध्यनेपाल नगरपालिकाकै विकास भुजेल बेष्ट लिफ्टर बने । राइनास नगरपालिकाका विशाल बि.क., बेष्ट स्पाइकर घोषित भए । करण र विकासले समान २/२ हजार पुरस्कार पाए । प्रतियोगितामा ११ टिमको सहभागिता थियो ।