आइटीएफ डेविस र फेड कप खेल्न टेनिस खेलाडी इन्डोनेसियातर्फ

टोलीमा ३ पुरुष र ३ महिला खेलाडी छन्, पुरुष खेलाडीमा निहालजंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायस्थ छन्, त्यस्तै, महिला खेलाडीमा रायना शाह, ईशाश्री शाह र सिरिष्ता राई छन्

जनसम्मत
फागुन ९, २०७६, शुक्रबार

पोखरा । इन्डोनेसियाको जाकार्तामा फेब्रुअरीको २२ देखि २९ तारिखसम्म संचालन हुने डेविस तथा फेड कपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका नेपाली लन टेनिस टोली ।

नेपाली लन टेनिसका ६ सदस्यीय टोली शुक्रबार इन्डोनेसियातर्फ लागेका हुन् । टोलीमा ३ पुरुष र ३ महिला खेलाडी छन् । पुरुष खेलाडीमा निहालजंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायस्थ छन् । त्यस्तै, महिला खेलाडीमा रायना शाह, ईशाश्री शाह र सिरिष्ता राई छन् ।

प्रशिक्षकमा कृष्णराज घले छन् । घले आइटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसीपका लागि जकार्ता मै छन् । पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघले जनाएको छ । टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शुक्रबारै सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाई गरेका हुन् ।