आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न, गण्डकी प्रदेशलाई नवौं राष्ट्रिय खेलकुदको जिम्मा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता

जनसम्मत
वैशाख १२, २०७६, बिहीवार

पोखरा । ०७७ सालमा गण्डकी प्रदेशमा भेट्ने बाचासहित आठौँ बृहत राष्ट्रिय खेलकुद सकिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितीमा बुधवार नेपागन्ज रंगशालमा आठौँ राष्ट्रिय खेलुकदको औपचारिक समापन गरिएको हो । यससँगै गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मा पाएको छ ।

नेपालगन्जस्थित रंगशालामा बुधबार साझँ समापन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने गरी झण्डा हस्तान्तरणसमेत गरिएको छ ।

समापन समारोहका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बुधबार साँझ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठसहित खेलाडीहरुको टोलीलाई झण्डा हस्तान्तरण गरेका हुन् । कार्यकममा राखेपका सदस्यहरु राजेशकुमार गुरुङ र अस्मिता गुरुङलगायतको सहभागिता थियो ।

उपराष्ट्रपति पुनले विजेता टोलीलाई पुरस्कार वितरण गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशलाई समयमै तयारीमा जुट्न आग्रह गरे । उपराष्ट्रपति पुनले पर्यटकीय नगरी पोखरामा केन्द्र हुने गरी खेल पूर्वाधार निर्माण भइरहेकोमा खुशी व्यक्त गरे । नवौं खेलकुद अझ व्यबस्थित पार्न सवैलाई समयमै लाग्न उनको अनुरोध थियो ।

योसंगै २०७७ फागुन २० देखि २७ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने भएको हो । राखेपले बुधबार बोर्ड बैठक बसेर नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने आयोजक प्रदेशको टुंगो लगाएको हो ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुँदा नै गण्डकी प्रदेशले आयोजना गर्ने दाबी गरेको थियो । तर, प्रदेश ५ ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशलाई दिने सहमति भएको थियो ।

राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा केही खेलकुदका भौतिक संरचना निर्माण भएको त केही निमार्णको क्रममा भएकोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने निर्णय गरेको राखेपका सदस्य राजेशकुमार गुरुङले बताए ।

गत चैतको २७ गतेबाटै केही खेलहरु सुरु भएपनि आठौँको औपचारिक उद्घाटन २०७६ साल बैशाख ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी थिइन् ।

पदकमाथि विभागीय क्लबहरुकै वर्चंस्व

३ सय  ३० स्वर्ण, ३ सय २९ रजत र ४ सय ८० कास्य गरी कूल ११ सय ३९ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

३ सय ७२ वटा स्वर्ण पदकको लागि भने खेल पूर्व घोषणा गरेपनि आर्चरी, ट्रायथलन, बडी बिल्डिङ खुल्ला इभेन्ट भएकोले पदक तालिकामा नजोडिएको हो ।

जित्नेहरुमा विभागीय क्लबहरुकै वर्चस्व रह्यो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले १४० स्वर्ण, ८१ रजत र ६७ कास्य गरी २८८ पदक जितेर आफ्नो वर्चस्व कायम ग¥यो ।

अर्को, विभागीय नेपाल पुलिस क्लबले ६२ स्वर्ण ४८ रजत ४६ कास्य गरी १५६ पदक हात पा¥यो । त्यस्तै, सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५२ स्वर्ण ६९ रजत ८० कास्य गरी २०१ जित्यो ।

प्रदेश नं ३ ले २२ स्वर्ण ४० रजत ६० कास्य गरी १२२ पदकसहित पदक तालिकाको चौथो र प्रदेशमै अग्रस्थानमा रह्यो । त्यसपछि गण्डकी प्रदेशले १२ स्वर्ण २१ रजत र ४४ कास्य गरी ७७ पदक जित्दै पाँचौं स्थानमा रह्यो ।

आयोजक प्रदेश नं ५ ले ११ स्वर्ण २६ रजत ४८ कास्य गरी ८५ पदकसहित पदक तालिकाको छैटौं स्थानमा रह्यो । प्रदेश नं १ ले ९ स्वर्ण २० रजत ५९ कास्य गरी कूल ८८ पदक जित्दै सातौं स्थानमा रह्यो ।

सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण १२ रजत र ३४ कास्य गरी ५४ पदकसहित आठौं स्थानमा रह्यो । प्रदेश नं २ ले ६ स्वर्ण ७ रजत र २० कास्य गरी ३३ पदक जित्दै नवौं स्थानमा रह्यो ।

गैरआवासिय नेपालीहरुको प्रतिनिधिमुलक छाता संस्था एनआरएनएले ६ स्वर्ण २ रजत ५ कास्य गरी १३ पदक जित्दै पदक तालिकाको दशौं स्थानमा रह्यो । कर्णाली प्रदेशले ३ स्वर्ण ४ रजत ७ कास्य जित्दै पदक तालिकाको अन्तिम स्थानमा समेटिन पुग्यो ।

तीन विभागीय, एक विदेशी गैरआवासिय नेपालीहरुको संघ र ७ प्रदेशहरुको खेलकुद प्रतियोगितामा सहभागिता थियो ।

पुरुषतर्फको फुटबल फाइनलसँगै समापन

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन बुधबार नेपालगन्ज रंगशालाको फुटवल मैदानमा पुरुषतर्फको फुटवल फाइनल भएको थियो । उक्त फुटवलको फाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लवलाई १–० ले पराजित गर्दै स्वर्ण पदक जितेको थियो । खेलको ४३ औं मिनेटमा आर्मीका विकास तामाङले निर्णायक गोल गरे । पुलिसले रजत पदकमा तित्त बुझायो ।

त्यसैगरी भलिवल पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फको भलिवलमा एपीएफले स्वर्ण पदक जितेका हुन् । पुरुषतर्फको क्रिकेट खेलमा भने एपीएफले स्वर्ण पदक जितेको छ । एपीएफले पुलिसलाई बुधबार भएको फाइनल खेलमा ३२ रनले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेको हो ।