आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृृद्धि

फागुनको २२ गतेदेखि शुरु १८ औं संस्करणको प्रतियोगिताको विजेताले १० लाख, १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने सहारा क्लब पोखराले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ, प्रतियोगितामा आयोजक सहारा सहित १ विदेशी, ३ विभागीय र ६ ‘ए’ डिभिजन लिग क्लबको सहभागिता

जनसम्मत
फागुन ११, २०७६, आइतबार

पोखरा । यस संस्करणदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ ।

पोखरामा फागुनको २२ गतेदेखि शुरु १८ औं संस्करणको प्रतियोगिताको विजेताले १० लाख, १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने सहारा क्लब पोखराले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

गत संस्करणसम्म विजेताको ८ लाख १ हजार र उपविजेताको ४ लाख १ हजार पुरस्कार राशी रहेकोमा यस वर्ष विजेता र उपविजेता दुबैका लागि पुरस्कार राशीमा बृद्धि गरिएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

यस संस्करणको प्रतियोगितामा आयोजक सहारा क्लब सहित ३ विभागीय र ६ ‘ए’ डिभिजनका क्लब गरी १० वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष थापाले बताए । हालैमात्र सम्पन्न ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले अन्य गोल्डकपमा सहभागिता जनाएका कारण पोखरा नआउने अध्यक्ष थापाले प्रष्ट पारे ।

प्रतियोगिताका लागि १२ टिम सहभागी गराउने क्लबको लक्ष रहेपनि एन्फाले प्रतियोगिताका लागि १ दिन कम समय तोकेकाले १० टिमबीच मात्रै प्रतिस्पर्धा हुने अध्यक्ष थापाले प्रष्ट पारे ।

क्लवका अध्यक्ष थापाले कोरोना भाइरसका कारण यस वर्ष विदेशी टिमको संख्यामा पनि कमी आएको उल्लेख गरे । उनले भने, ‘कोरोना भाइरसका कारण भारतको १ टिमबाहेक अन्य विदेशी टिम सहभागी गराउन सकिएन । जापान, क्यामरुन, भारतको दिल्ली र भुटान लगायतका केही क्लवहरुसँग हाम्रो आग्रह रहेपनि अन्तिम समयमा आएर उनीहरुले यस टुर्नामेन्टमा सहभागिता नजनाउने हामीलाई जानकारी गरायो ।’

आयोजक क्लबको सहारामा विदेशी खेलाडी सहितको बलियो टिम तयार पार्दै गरेको अध्यक्ष थापाले दाबी गरे । आयोजक सहाराको टिम तयार पार्ने जिम्मा क्लबका पूर्व अध्यक्ष बीरभद्र आचार्यको जिम्मामा रहेको थापाले बताए । उनले भने, ‘यस पटकको प्रतियोगितामा उपाधिलाई घरमै राख्ने गरी आयोजक टिम तयार पार्दैछौं ।’

यस संस्करणदेखि क्लबले नवप्रतिभावान खेलाडीलाई ३५ हजार सहित दोसल्ला ओढाएर सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानपत्र र ट्रफीद्वारा सम्मान गर्ने अध्यक्ष थापाले जानकारी दिए ।

प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ र विधागत उत्कृष्ट खेलाडीले समान ५/५ हजार सहित ट्रफी पुरस्कार पाउनेछन् । सहारा यु.के.ले ‘म्यान अफ दी म्याच’ र विधागत उत्कृष्ट खेलाडी पुरस्कारको प्रायोजन गर्दै आएको छ । सहारा यु.के.का अध्यक्ष धनु थकालीले क्लबका अध्यक्ष केशवबहादुर थापालाई उक्त ट्रफीहरु हस्तान्तरण गरे ।

प्रतियोगिता सम्पन्न गर्न ९९ लाख, ३८ हजार, ५ सय रुपैयाँ खर्च लाग्ने क्लवले जनाएको छ । प्रतियोगिताबाट १ करोड, १८ लाख, १ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको क्लवका महा–सचिव रामजीप्रसाद अधिकारीले बताए । उनका अनुसार प्रतियोगिताबाट बचत हुने १९ लाख रुपैया सहारा एकेडेमीको लागि खर्चिने भएको छ । एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।

यस पटक प्रायोजक तथा सह—प्रायोजक सहित धेरै दाताहरुको सहयोग प्राप्त भएकोले क्लवले अपेक्षा गरेअनुसार आम्दानी गर्न सफल हुुने अर्थ समितिका संयोजक सुनिल गुरुङले बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य राजेशकुमार गुरुङले आहा ! रारा गोल्ड कप पोखराकै प्रतिष्ठित टुर्नामेन्ट भएकाले पनि खेलका लागि पोखरा रंगशालास्थित फुटबल मैदान उपलब्ध गराएको बताए । यस संस्करणको प्रतियोगितामा रंगशालाका ६ वटै प्रवेशद्वारहरु खुल्ला गरिने बताए ।

गुरुङले टुर्नामेन्ट गर्ने मात्र नभई रंगशालामा बनेको संरचनाको संरक्षण र सरसफाईमा समेत ध्यान दिन आयोजक सहारा क्लबसमक्ष आग्रह गरे । उनले भने, ‘पोखरा रंगशालामा प्यारापीट सहितको फुटवल मैदान निर्माणकै क्रममा भएकोले प्यारापीट तथा सौचालयमा सुरक्षाकर्मी एवं स्वयंसेवक खटाउनुहोला ।’

फागुपूर्णिमा पर्वको अवसरमा पोखरा रंगशालामा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरिएको सदस्य गुरुङले बताए । उनले भने, ‘खेलाडी तथा पत्रकारहरुका लागि एकैठाउँमा खेल खेल्ने र खेलाउने कार्यक्रम बनाउँदैछौं । त्यसमा सहभागी भइदिनुहोला ।’

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ संचालन हुँदै आएको प्रतियोगितालाई श्री फूड्स प्रा.लि.को उत्पादन आहा ! रारा तयारी चाउचाउले निरन्तर मुख्य प्रायोजन गर्दै आएको छ । नेपाल भ्रमण बर्ष–२०२० लाई सफल पार्न यस प्रतियोगिताले थप सहयोग पुग्ने क्लबको दाबी छ ।