पोखरामा भारतीय अन्तर बटालियन भू.पू. सैनिक गोल्डकप बास्केटबल च्याम्पियनसीप शुरु

पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पका ईञ्चार्ज लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठीले एक कार्यक्रमबीच रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्

जनसम्मत
फागुन ११, २०७६, आइतबार

पोखरा । पोखरामा पाँचौ संस्करणको भारतीय अन्तर बटालियन भू.पू. सैनिक गोल्डकप बास्केटबल च्याम्पियनसीप शुरु भएको छ ।

भूतपूर्व सैनिक खेलाडी संघ, गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु च्याम्पियनसीपमा १३ टिमको सहभागिता छ ।

पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पका ईञ्चार्ज लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठीले एक कार्यक्रमबीच रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

पोखरा–१४ स्थित काजीपोखरी बास्केटबल कोर्टमा शुरु प्रतियोगिताको पहिलो दिन ६ वटा खेलहरु सम्पन्न भएको संघका सचिव कृष्ण चन्द ठकुरीले जानकारी दिएका छन् । चन्दका अनुसार सम्पन्न खेलहरुमा थर्ड/ऐट, फोर्थ/फस्र्ट, थर्ड/फोर्थ, थर्ड/नाइन, थर्ड/ऐट र फस्र्ट/थर्ड गोर्खा राइफल्सले विजयी शुरुवात गरेका छन् ।

शनिबार भएको पहिलो खेलमा थर्ड/ऐट गोर्खा राइफल्सले २ खेल जित्दै क्वाटरफाइनल प्रवेश गरेको छ । थर्ड/ऐट  गोर्खा राइफल्सले पहिलो खेलमा फाइव/नाइन गोर्खा राइफल्सलाई ६१–४७ ले हरायो । त्यस्तै, दोस्रो खेलमा थर्ड/ऐट गोर्खा राइफल्सले नै सेकेन्ड/थर्ड गोर्खा राइफल्सलाई ५०–३९ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश ग¥यो ।

शनिबार नै भएको अन्य खेलमा फोर्थ/फस्र्ट गोर्खा राइफल्सले फाइव/फोर्थ गोर्खा राइफल्समाथि ४४–४२ ले कठिन जित निकाल्यो । त्यस्तै, अर्को खेलमा थर्ड/फोर्थ गोर्खा राइफल्सले सेकेन्ड/फस्र्ट गोर्खा राइफल्सलाई ७०–४० को फरक स्कोरले पन्छायो ।

शनिबार नै भएको अर्को खेलमा थर्ड/नाइन गोर्खा राइफल्सले फाइव/फाइव गोर्खा राइफल्समाथि ६३–३५ को फरक स्कोरमा सहज जित निकाल्यो । त्यसैगरी, फस्र्ट/थर्ड गोर्खा राइफल्सले फोर्थ/फस्र्ट गोर्खा राइफल्समाथि ४४–२१ को अन्तरले पाखा लगायो ।

शनिबार नै हुने भनिएको २ खेलबाट फाइब/नाइन र सिक्स/ऐट गोर्खा राइफल्सले वाकओभर पाएको छ । खेल तालिकाअनुसार फोर्थ/नाइन गोर्खा राइफल्स खेलमा अनुपस्थित भएपछि दुबै टिमले वाकओभर पाएको संघका अध्यक्ष क्याप्टेन प्रेमप्रसाद गुरुङले जानकारी दिएका छन् । फोर्थ/नाइन गोर्खा राइफल्सले शनिबार पहिलो खेल फाइव/नाइन र दोस्रो खेल सिक्स/ऐट गोर्खा राइफल्ससँग खेल्नुपर्ने तालिकामा उल्लेख थियो ।

यसअघि, भूतपूर्व सैनिक खेलाडी संघ, गण्डकी प्रदेशका अध्यक्ष क्या.प्रेमप्रसाद गुरुङको अध्यक्षता, उपाध्यक्ष बलबहादुर गुरुङको स्वागत मन्तव्य र सचिव कृष्णचन्द्र ठकुरीको संचालनमा उद्घाटन कार्यक्रम भएको थियो ।