नवलपुरले जित्यो गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ क्रिकेट उपाधि

खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित गरेपछि नवलपुरले लिगमा शीर्षस्थान कायम गर्दै उपाधि जितेको हो

जनसम्मत
फागुन ११, २०७६, आइतबार

पोखरा । नवलपुरले पोखरामा सम्पन्न पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित गरेपछि नवलपुरले लिगमा शीर्षस्थान कायम गर्दै उपाधि जितेको हो ।

पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी ५ टिमबीचको सुुपर लिगमा नवलपुरले अपराजित रहँदै ८ अंक जोड्यो । दोश्रो स्थानमा रहेको कास्कीको ६ अंक थियो ।

अन्तिम तथा निर्णायक खेलमा टस जितेर व्याटिङ रोजेको नवलपुरले ४६ ओभरमा संपूर्ण विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको थियो । जितका लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको कास्की ३५ ओभरमा १ सय ८ रनमा समेटियो । फाइनल खेलमा ह्याट्रिक गर्न सफल नवलपुरका बलर सुशिल क्षत्री ‘म्यान अफ दी म्याच’ बने ।

प्रतियोगितामा बागलुङका सुवास भण्डारी सर्वोत्कृष्ट खेलाडी बने । प्रतियोगिताभर ११ विकेट लिएका नवलपुरका स्वीकार श्रेष्ठ उत्कृष्ट बलर बने । प्रतियोगिताको एकमात्र शतक प्रहार गरेका नवलपुरकै दीपक डुम्रे उत्कृष्ट व्याट्स्म्यान बने ।

जितसँगै नवलपुरले २० हजार सहित ट्रफी पुरस्कार प्राप्त गरेको छ । नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतम, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी फरेन लिङ्क कन्सल्टेन्सीका प्रमुख क्षितिज तुलाचन, आयोजक एकेडेमीका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक चन्द्रकुमार गुरुङ (जिम्मी), प्रशिक्षक रिजन प्रजु लगायतले विजयी टिम तथा खेलाडीहरुलाई ट्रफी मेडल, प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए ।

सर्वोत्कृष्ट खेलाडी भण्डारीलाई प्याराग्लाइडिङ पाइलट सविता तामाङले प्याराग्लाइडिङ टिकट उपहार प्रदान गरिन् ।