डिफेन्डिङ च्याम्पियन एपीएफलाई दिदीबहिनी कप राष्ट्रिय भलिबल उपाधि

विभागीय डर्बीमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ लगातार प्रतियोगिताको च्याम्पियन बनेको हो, यस संस्करणको जितसँगै साविक विजेता एपीएफले उपाधि समेत रक्षा गरेको छ

जनसम्मत
फागुन ११, २०७६, आइतबार

पर्वत । विभागीय टिम एपीएफले चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

विभागीय डर्बीमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ लगातार प्रतियोगिताको च्याम्पियन बनेको हो । यस संस्करणको जितसँगै साविक विजेता एपीएफले उपाधि समेत रक्षा गरेको छ ।

पर्वतको बेनीमा भएको प्रतियोगिताको पहिलो सेट २५–१५ ले गुमाएपछि खेलमा उत्कृष्ट पुनरामगन गर्दै एपीएफले उपाधि रक्षा गरेको हो । त्यसपछि, एपीएफले २५–१८, २५–२१ र २५–१२ ले लगातार ३ सेट आफ्नो पक्षमा पारेको थियो ।
उपाधिसँगै एपीएफले २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ । उपविजेता पुलिसले १ लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

आर्मीलाई हराउँदै तेस्रो बनेको न्यू–डायमण्डले ५० हजार रुपैयाँ हात पारेको छ । तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा न्यू–डायमण्डले आर्मीलाई २५–२३, २५–२१ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो । वर्षाका कारण शुक्रबार प्रभावित बनेको खेल शनिबार बिहान खेलाइएको हो ।

प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । सरस्वतीले १० हजार पुरस्कार पाइन् । विधागत उत्कृष्ट अन्तर्गत स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, ब्लकरमा पुलिसकी कोपिला राना, सेटरमा पुलिसकै कमला पुन, लिबेरोमा न्यू–डायमण्डकी सलिना श्रेष्ठ र सर्भरमा न्यू–डायमण्डकी पनामिका राई घोषित भइन् ।

उत्कृष्ट प्रशिक्षकका रूपमा एपिएफका महेशप्रसाद चौधरी घोषित भए । विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५/५ हजार पुरस्कार प्राप्त गरे ।