खेलकुदमै गण्डकी प्रदेश सरकारले लक्ष्य बनाएको छ : सामाजिक विकास मन्त्री नरदेवी पुन

मन्त्री पुनले खेलको विकासको लागि प्रदेश सरकारले नीतिगत रुपमै अगाडी वढाउने तयारीमा रहेको बताएकी हुन्

जनसम्मत
फागुन ११, २०७६, आइतबार

पोखरा । सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार लागिरहेको बताएकी छन् ।

पोखरा नदीपुरस्थित पुन यूनाइटेड क्लवले महाशिवरात्रीको अवसरमा आयोजना गरेको महिला, पुरुष तथा प्रौढ भलिवल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि मन्त्री पुनले खेलको विकासको लागि प्रदेश सरकारले नीतिगत रुपमै अगाडी वढाउने तयारीमा रहेको बताएकी हुन् ।

मन्त्री पुनले भनिन्, ‘उमेर कटिसकेपछि खेल्नुको अर्थ हुँदैन । राम्रो नतिजा ल्याउन सानै उमेरदेखि खेल र संगीतलाई स्थापित गराउने हाम्रो उदेश्य छ । खेलको माध्यमबाट प्रदेशलाई देशबाहिर पनि चिनाउनुपर्छ । र, स्वस्थ नागरिक तयार पार्नुपर्छ । यो हाम्रो गण्डकी प्रदेश सरकारको योजनामा रहेको छ ।’

मन्त्री पुनले हरेक नागरिकलाई असल बनाउने योजना र लक्ष्य प्रदेश सरकारले लिएको उल्लेख गरिन् । उनले भनिन्, ‘आफ्नो खुट्टामा उभिने नागरिक बनाउने जिम्मेवारी रहेको छ । तर, नागरिकले चाल पाएका छैनन् । तालिम, सीप विकासको लागि के चाहिने हो ? त्यसका लागि प्रस्तावहरु लिएर आउनु प¥यो । यसतर्फ ध्यान दिन म आग्रह गर्दछु ।’

प्रतियोगिताका संयोजक मेजर चन्द्रबहादुर पहरे पुनमगरले युवा तन्नेरीहरुले जहिले पनि अनुशासनमा रहेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले नयाँ नयाँ खेलाडीको खोजी पनि गरेका हौं । अनुशासनको साथमा खेलको कलाकौशल भएका खेलाडीहरुको खाँचो छ । अर्को कुरा, हामीले विपन्न वर्गका वालवालिकाको शिक्षा, स्वास्थ्यको लागि १ करोडको अक्षय कोष निर्माणको लक्ष्य लिएका छौं । यसका लागि पनि खेल आयोजना गर्नुपरेको हो ।’

पुन यूनाइटेड क्लवका अध्यक्ष शिव पाइजाले देश विदेशमा रहेका दाजुभाईको सहयोगबाट सामाजिक काममा रकम खर्च गर्नेगरी हरेक वर्ष महाशिवरात्रीको अवसरमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘यस वर्षबाट शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने लक्ष्यका साथ अगाडी बढेका छौं । आशा छ, हामी लक्ष्यमा पुग्ने कोशिष गर्नेछौं,’ पाइजाले उल्लेख गरे ।