मौसमका कारण प्याराग्लाइडिङ  छनौट खेल स्थगित

च्याम्पियनसीपको दोश्रो दिन क्रस कन्ट्री अन्तर्गत ४६ किलोमिटरको ‘टास्क’मा उडेका पाइलटहरुलाई मौसम खराब भएको संकेत पाउनासाथ आयोजकले फिर्ता बोलाएको थियो

जनसम्मत
फागुन १३, २०७६, मंगलवार

पोखरा।  नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा ‘प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर–२०२०’ अन्तर्गतको छनौट खेल मौसमका कारण स्थगित भएको छ । नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीपको १९ औं संस्करणको प्रतियोगिता सोमबार अन्तिम समयमा आएर स्थगित भएको हो ।

च्याम्पियनसीपको दोश्रो दिन क्रस कन्ट्री अन्तर्गत ४६ किलोमिटरको ‘टास्क’मा उडेका पाइलटहरुलाई मौसम खराब भएको संकेत पाउनासाथ आयोजकले फिर्ता बोलाएको थियो । च्याम्पियनसीपका लागि नेपालसहित २० देशका ९२ जना पाइलटहरुले उडान भरिसकेका थिए ।

‘सोमबार दिउँसो १ बजेपछि उत्तरी हावाका कारण प्रतियोगिता स्थगित गर्नु परेको हो’ प्रतियोगिता कम्पिटिसन डाइरेक्टर विमल अधिकारीले भने, ‘पोखरामा चल्ने उत्तरी वायु यति खतरनाक हुने भएकोले संभावित दुर्घटनालाई रोक्न आजको प्रतियोगिता नै स्थगित गरेका हौं ।’

नेपालमा आयोजना गरिएको अहिलेसम्मकै प्याराग्लाइडिङको ठूलो प्रतियोगितामध्येको यस प्रतियोगितामा २० देशका ९२ जना पाइलटहरुले विश्वकप छनौटका लागि प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताका संयोजक एवं ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताए । नेपाली १३ जना समेतको सहभागिता रहेको यस प्रतियोगितामा विदेशी ८ जना महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

नेपाल भ्रमण २०२० को अवसरमा आयोजित उक्त प्रतियोगितामा छनौट भएका खेलाडीले विश्वकपमा पुग्न एशियाको तीन देशमा हुने विभिन्न चरणका खेलहरुमा जित्नुपर्ने ना का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । विश्वकप टुरका लागि र नेपाल तर्फको च्याम्पियनसीपका विजेता खेलाडीले पुरस्कार पाउनेछन् ।

एशियन अन्तर्गत (एफएआइ) ले एशियन प्याराग्लाइडिङ वल्र्ड कप एशोसिएसनको मातहातमा रहेर सन २०२० का लागि नेपाल, चीन र इन्डोनेशियामा गरी तीनवटा टुरहरु आयोजना गर्न स्विकृती दिएको हो । एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सुपर फाइनलमा सोझै प्रवेश दिनका लागि प्रतियोगिताको आयोजना गरिएको हो । विश्वकपको सुपर फाइनल सन २०२१ मा फ्रान्समा हुनेछ ।