गार्डेन कप फुटबल शुरु, संगम एकेडमीको विजयी शुरुवात

संगमले आयोजक गार्डेनको जुनियर टिमलाई टाईब्रेकरमा ३–२ गोलले पराजित गरेको हो

जनसम्मत
फागुन १३, २०७६, मंगलवार

पोखरा । पोखरामा दोश्रो गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा संगम एकेडेमी विजयी भएको छ । संगमले आयोजक गार्डेनको जुनियर टिमलाई टाईब्रेकरमा ३–२ गोलले पराजित गरेको हो ।

गार्डेन युवा क्लवले फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालको खेल मैदानमा आयोजना गरेको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गार्डेनका बबि भुजेलको प्रहार संगमका कीपर अन्जन क्षत्रीले बचाउ गरे ।

संगमको तर्फबाट प्रशन्न श्रेष्ठ, सम्भव तामाङ र मनोज गुरुङको प्रहार गोलमा परणत भएको थियो । गार्डेनका कृष्ण तामाङ र रबि बाँस्तोलाको प्रहार गोलमा परिणत भएको थियो ।

यसअघि, पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले रेफ्री सन्तोष गुरुङलाई बल हस्तान्तरण गर्दैै प्रतियोगिताको उद्घाटन गरे । अध्यक्ष बाँस्तोलाले महानगरले ‘एक वडा, एक खेलमैदान’को अवधारणा अघि सारेपनि फुलबारीमा खेल्न योग्य मैदान मणिपाल अस्पतालको मात्रै भएको बताए । वडाले काहुँमा मैदानको खोजी गरिरहेको पनि उनले जनाकारी दिए ।

कार्यक्रमका विशेष अतिथि मणिपाल शिक्षण अस्पतालका प्रशासन प्रमुख भानु भारद्वाजले गार्डेन क्लवले मणिपालको मैदानमा फुटबल आयोजना गरी

खेलकुदलाई स्वास्थ्य क्षेत्रसँग जोड्ने काम गरेको बताए । अर्का विशेष अतिथि क्लवका सल्लाहकार किरण केसीले मानव स्वास्थ्यका लागि खेलकुदको महत्व रहेको बताए । सभ्य र अनुशासित समाज निर्माणमा पनि खेलकुद सकारात्मक पक्ष भएको उनले औंल्याए । क्लवका संस्थापक अध्यक्ष मिलन गुरुङले अब गार्डेन क्लव आगामी दिनमा खेलकुदसँगै सामाजिक कार्यमा समेत सक्रिय बन्ने बताए ।

क्लवका अध्यक्ष विनोद गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतियोगिता संयोजक सन्तोष कार्कीले स्वागत तथा पूर्वअध्यक्ष लोकमान गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

आगामी १७ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न २९ क्लवले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ७० हजार सहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोलकीपरले समान ५/५ हजार सहित ट्रफी पुरस्कार पाउनेछन् । सेमिफाइनलिस्ट दुई टिमले समान १०÷१० हजार पाउने क्लवले जनाएको छ ।