वेगनास कप जारी, ६ खेल सम्पन्न

प्रतियोगिताको तेस्रो दिन ६ खेल भएका छन्

जनसम्मत
फागुन १३, २०७६, मंगलवार

लेखनाथ । वेगनास ताल किनारमा दोश्रो सेभेन ए साइड वेगनास कप फुटबल प्रतियोगिता जारी छ । प्रतियोगिताको तेस्रो दिन ६ खेल भएका छन् ।  खेलमा सुदेश गुरुङको ह्याट्रिक मद्दतमा आयोजक वेगनास ‘सी’ ले पचभैया प्रगतिशिललाई पराजित गरेको छ । खेलमा पचभैयाले शान्त्वना १ गोल गरेको थियो।

त्यस्तै, मेरो नेपाल युवा क्लव मझेरीपाटनलाई टाइब्रेकरमा सबिन मेमोरियल एफसीले २–० गोलले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टोलीबाट १/१ को वरावरी भएपछि खेल टाइबेकरमा पुगेको थियो ।

प्रतियोगितामा पाटन एफ सी टुंडिखेलले वाकओभर दिएपछि ड्यामसाइड युवा क्लव सिधै अर्को चरणमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा नर्सरी एफसीमाथि योङ स्टार युवा क्लव ‘ए’ बिजयपुरले २–० गोल गर्दै अर्को चरणमा प्रवेश गरेको छ । योङ स्टारकै ‘बी’ लाई हिमाल एन्ड रक्ष मेमोरियल ‘बी’ ले २–१ गोलले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ । आयोजक वेगनास ‘ए’ ले हिमालय ज्योति युवा क्लवलाई १–० गोलले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ । वेगनासको जितमा राजकुमार कुँवरले निर्णायकगोल गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबारदेखि प्रि–क्वाटरका ४ खेल हुने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ५/५ हजार पुरस्कार पाउनेछन् ।