खगेन्द्र भाटले जिते पहिलो संस्करणको प्रकृति संरक्षण हाफ म्याराथन

उक्त स्पर्धामा जितेन्द्र दनुवार दोस्रो बने, सुबास कार्की तेस्रो बने

जनसम्मत
फागुन १३, २०७६, मंगलवार

बर्दिया । खगेन्द्र भाटले पहिलो संस्करणको प्रकृति संरक्षण हाफ म्याराथनको उपाधि जितेका छन् ।

सेना दिवसका अवसरमा बर्दियाको ठाकुरद्धारास्थित ४ नम्बर बाहिनी अड्डाले आयोजना गरेको प्रतियोगिताको हाफ म्याराथनतर्फ भाटले उपाधि जितेका हुन् । खगेन्द्रले ५० हजार पुरस्कार पाए ।

उक्त स्पर्धामा जितेन्द्र दनुवार दोस्रो बने । जितेन्द्रले ३० हजार पुरस्कार पाए । सुबास कार्की उक्त स्पर्धामा तेस्रो बने । सुबासले २० हजार पुरस्कार पाए ।

प्रतियोगिताको १० किलो मिटर दौडमा नन्दनाथ योगी पहिलो बने । नन्दनाथले १५ हजार पुरस्कार प्राप्त गरे । दोस्रो भएका माधवकुमार चौधरीले १० हजार पाए । तेस्रो बनेका प्रकाश रोकायाले ५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको महिलातर्फ १० कि.मी. को दौडमा शिवकुमारी थारु पहिलो, अञ्जु थारु दोस्रो र कन्चन चौधरी तेस्रो बने । पहिलो भएकी शिवकुमारीले १५, दोस्रो अञ्जुले १० र तेस्रो बनेकी कन्चनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, ५० बर्षमाथिको ५ किलो मिटर दौडमा पठन्या थारु पहिलो, चक्रबहादुर थारु दोस्रो र नारायण पाण्डे तेस्रो बने । विजेता पठन्याले ५ हजार, दोस्रो बनेका चक्रबहादुरले ३ हजार र नारायणले २ हजार पुरस्कार हात पारे ।

सेना दिवसका अवसरमा ठाकुरद्धारास्थित ४ नम्बर बाहिनीले प्रकृति संरक्षण र भ्रमण बर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले दौडको आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका विभिन्न निकायका ४ सय बढीले दौडमा सहभागी थिए ।