मच्छिन्द्रलाई सताक्षी गोल्डकप उपाधि

थ्रीस्टारविरुद्धको फाइनल खेलमा मच्छिन्द्रको जितका लागि बिमल घर्तिमगरले गरेको पेनाल्टी गोल निर्णायक बन्यो

जनसम्मत
फागुन १३, २०७६, मंगलवार

झापा । बिमल घर्तिमगरको पेनाल्टी गोल मद्दतले मच्छिन्द्र फुटबल क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि विजेता बनेको छ ।

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा थ्रीस्टारविरुद्धको फाइनल खेलमा मच्छिन्द्रको जितका लागि बिमल घर्तिमगरले गरेको पेनाल्टी गोल निर्णायक बन्यो । मच्छिन्द्रले गोल्डकपको उपाधिसँगै ६ लाख पुरस्कार जित्यो । उपविजेता थ्रीस्टारले ३ लाखमा चित्त बुझायो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको एक हप्तापछि नै मच्छिन्द्रलाई सताक्षी गोल्डकपको उपाधि हात परेको हो । एक हप्ताअघि सम्पन्न ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा मच्छिन्द्र क्लबले नेपाल आर्मीलाई पराजित गर्दै लिग च्याम्पियन बनेको थियो ।

आइतबार सम्पन्न फाइनल खेलको पहिलो मिनेटमा नै मच्छिन्द्रका सोमेडेलाई थ्रीस्टारका डिफेन्डरले डी–बक्सभित्र लडाएपछि मच्छिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई मच्छिन्द्रका खेलाडी बिमल घर्तिमगरले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको थ्रीस्टार दोस्रो हाफमा पनि संघर्षरत रह्यो ।