मनाङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान रंगशालामा भएको खेलमा मनाङले बेलवारी फुटबल क्लवलाई ४–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो

जनसम्मत
फागुन १३, २०७६, मंगलवार

धरान । मनाङ मस्र्याङदी क्लव बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा भएको खेलमा मनाङले बेलवारी फुटबल क्लवलाई ४–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो । मनाङको जितमा दयानन्द सिंहले २ गोल गरे । निशान लिम्बु र विमल रानाले १/१ गोल गरे ।

खेलको २४ औं मिनेटमा निशान लिम्बुले गोल गर्दै मनाङलाई अग्रता दिलाए । उनले अञ्जन विष्टको पासमा गोल गरेका थिए । त्यस्तै, ४३ औं मिनेटमा विमल रानाको गोलबाट मनाङले दोब्बर अग्रता बनायो । कमल श्रेष्ठको कर्नर बलमा अञ्जनले डिबक्समा गरेको हेडरलाई विमल रानाले गोल गरेका थिए ।

पहिलो हाफमा २ गोलको अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि निर्णायक २ गोल गर्न सफल बन्यो । दोस्रो हाफको सुरुवातमै दयानन्दको गोलबाट मनाङले तेस्रो गोल गर्न सफल भयो । खेलको ५३ औं मिनेटमा दयानन्दले ब्यक्तिगत पहिलो र मनाङका लागि तेस्रो गोल गरे ।

त्यसपछि, ६७ औं मिनेटमा दयानन्दले ब्यक्तिगत दोस्रो र मनाङका लागि चौथो गोल थप्यो । अञ्जन विष्टको फ्रीकिकलाई बेलबारीका गोलकिपरले रोकेको रिबाउण्ड बललाई डी–बक्समा अनमार्क रहेका दयानन्दले गोल गर्न सफल बने ।

यसअघि, विभागीय नेपाल पुलिस झापा–११ लाई हराउँदै यस संस्करणको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । आइतबारको खेलमा पुलिसले झापालाई ३–१ गोल अन्तरले हराउँदै सेमिफाइनल पुगेको हो । पुलिसको जितमा जुमानु राईले २ गोल गरे । सुमन सुवेदीले १ गोल गरे । झापाको लागि सञ्जय धिमालले एक मात्र सान्त्वना गोल गरेका थिए ।