गोर्खा ब्वाइज खप्तड गोल्ड कपको क्वार्टरफाइनलमा

धनगढी रंगशालामा जारी खप्तड गोल्डकपमा सुनौलो संगमलाई टाइब्रेकरमा ५–३ ले हराउँदै गोर्खा ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो

जनसम्मत
फागुन १३, २०७६, मंगलवार

धनगढी । गोर्खा ब्वाइज क्लब खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रबेश गरेको छ ।

धनगढीको कैलाली हसनपुरस्थित धनगढी रंगशालामा जारी खप्तड गोल्डकपमा सुनौलो संगमलाई टाइब्रेकरमा ५–३ ले हराउँदै गोर्खा ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित बनेको खेल दोस्रो हाफमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । सुनौलो संगमका कप्तान मोहन थापाको प्रहार गोर्खा ब्वाइजका कीपर मनोज गुरुङले बचाउ गरेका थिए । जितसँगै गोर्खा ब्वाइजले क्वार्टरफाइनलमा हिमालयन शेर्पाको सामना गर्नेछ ।

यसअघि, सिमराको नव जनजागृति क्लब र विभागीय सशस्त्रको एपीएफल क्वार्टरफाइनलमा स्थान बनाएको छ । आइतबार भएको खेलमा मदन भण्डारी स्पोर्टस् क्लबलाई ४–० को फरक गोल अन्तरले हराउँदै सिमराको नव जनजागृति क्लबले क्वाटरफाइनलमा स्थान बनाएको हो । जव जनजागृतिका लागि विवेक चौधरीले ह्याट्रिक र सागर चौधरीले १ गोल गरेका थिए ।

त्यस्तै, शनिबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले काठमाण्डौंको न्यूरोड टिम (एनआरटी) लाई २–१ ले स्तब्ध पार्दै प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाएको थियो । एपीएफका लागि रमेश दंगाल र बिकु तामाङले १/१ गोल गरे । एनआरटीको तर्फबाट भने दर्शन गुरुङले गोल गरे ।