मच्छिन्द्र क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

भारत कोलकात्ताको सन्डे क्लब एफसीलाई ६–१ को फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो

जनसम्मत
फागुन १४, २०७६, बुधबार

धरान । लिग विजेता मच्छिन्द्र फुटबल क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

धरान रंगशालामा भारत कोलकात्ताको सन्डे क्लब एफसीलाई ६–१ को फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रको जितमा विमलले ह्याट्रिक गरेका थिए । त्यस्तै मच्छिन्द्रका लागि विशाल राई (बी) ले २ तथा रेजिन सुब्बाले १ गोल गरे ।

पहिलो हाफमा सुरुवाती गोल गरेका विमलले खेलको अन्त्य तिर २ गोल थपे । विमलले दोस्रो गोल ७३ र तेस्रो गोल ७९ औं मिनेटमा गोल गरेका थिए । बिशालले २८ औं मिनेटमा विशालले गोल गर्दा मच्छिन्द्रले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा मच्छिन्द्रले ४ गोल थप्यो । रेजिनले ४९ औं मिनेटमा गोल थरे । विशालले ७४ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे । विशालले ८० औं मिनेटमा दोस्रो गोल तथा टोलीका लागि पाँचौं गोल गरे ।

भारतीय क्लबका लागि सञ्जिव बौरीले ८३ औं मिनेटमा गोल गरेका थिए । विमलले खेल सकिन ३ मिनेट बाँकी रहँदा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलको ‘म्यान अफ दी म्याच’ मच्छिन्द्रका विमल घर्तीमगर घोषित भए ।

मच्छिन्द्रले अब नेपाल पुलिस क्लबसँग बिहीबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । धरान फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार मनाङ मस्र्याङ्दी क्लब र युकेएफसीबीच प्रतिस्पर्धा हुनेछ ।