खेलकुद मन्त्री सहारा एकेडेमीमा

एकेडेमीलाई वार्षिक ५ लाख दिनेगरी रातो कितावमै पार्ने मन्त्रीको प्रतिबद्धता

जनसम्मत
फागुन १४, २०७६, बुधबार

पोखरा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले मंगलबार सहारा एकेडेमीको अवलोकन गरेका छन् ।

पोखराको सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीको अवलोकन गर्दै मन्त्री विश्वकर्माले भने, ‘एकेडेमीका लागि वार्षिक रुपमा ५ लाख रुपैयाँ उपलब्ध गराउन रातो कितावमै पार्नेछौं । राज्यले गर्ने काममा निजी क्षेत्रबाट भएकोमा गर्व लागेको छ ।’

सहारा क्लवले स्वदेश तथा विदेशी दाताको सहयोगले फुटवल एकेडेमी सहित वार्षिक रुपमा आहा ! रारा गोल्ड कप गर्दै आएकोमा पोखरेली हुनुको नाताले सवैलाई गर्वानुभूती भएको मन्त्री सुनारले उल्लेख गरे । उनले प्रतिकुलताका बावजुद नेपालको खेलकुदले फड्को मारेको बताए ।

मन्त्री सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई बाँचुञ्जेल मासिक ५ हजार र ओलम्पिकमा सहाभागीलाई बाँचुञ्जेल मासिक ४ हजार प्रदान गर्नेगरी सरकारले नीति बनाएको उल्लेख गरे ।

उनले भने, ‘राज्य र समाजले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढेको छ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कार वापतको रकम क्याविनेटले पास गरिसकेको छ । अव खेलेर बाँच्ने आधार राज्यले खडा गरिसकेको छ । अब, कुनै द्विविधा छैन । खेलसँगै शिक्षा पनि आवश्यक छ ।’

सहारा क्लवका अध्यक्ष केशवबहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्ष विरभद्र आचार्य, विक्रम थकाली, उपाध्यक्ष विश्वराज बरालले एकेडेमीमा मन्त्री सुनारलार्ई स्वागत गरेका थिए ।

सो अवसरमा एकेडेमीमा सहारा युकेका सल्लाहकार महेश गुरुङ, सहरा युकेका महासचिब धनु थकाली, कार्य समिति सदस्य योगेश गुरुङ, सदस्य नरजङ गुरुङ लगायतले मन्त्री विश्वकर्मालाई सहारा युकेको तर्फबाट स्वागत गरे ।

यसैबिच, मन्त्री सुनारले पोखरा रंगशालाको समेत अवलोकन गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले जानकारी दिएका छन् । नवौं राष्ट्रिय खेलकुदको लागि पोखरा रंगशालमा हुने विभिन्न खेल मैदानको तयारीबारे सदस्य गुरुङले मन्त्री सुनारलाई जानकारी गराएका थिए ।