नेपालले प्याराग्लाइडिङको वल्र्ड च्याम्पियनसीपको टिम इभेन्टतर्फको उपाधि जित्यो

क्रस कन्ट्रीको टिम इभेन्टतर्फ ४७.८ किलोमिटरको दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको हो, अन्य टिमलाई पछि पार्दै १७ अंक सहित नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको हो, नेपाली टोलीले ३ दिनको खेलमा ५४ अंक जोड्न सफल बन्यो

जनसम्मत
फागुन १८, २०७६, आइतबार

पोखरा । नेपालले वल्र्ड कप एसियन टुरको २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसीपको क्रसकन्ट्री विधाको टिम इभेण्टतर्फ उपाधि जितेको छ ।

क्रस कन्ट्रीको टिम इभेन्टतर्फ ४७.८ किलोमिटरको दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको हो । अन्य टिमलाई पछि पार्दै १७ अंक सहित नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको हो । नेपाली टोलीले ३ दिनको खेलमा ५४ अंक जोड्न सफल बन्यो ।

 नेपालले प्रमुख दाबेदार कोरियन टोलीलाई पछि पार्दै उपाधि जित्न सफल भएको हो । पहिलो दिनको खेलमा पछि परेको नेपालले लगातार दुई दिनको खेलमा उत्कृष्ट प्रर्दशन गरेको थियो । टिम नेपालको टोलीबाट प्रतिनिधित्व गरेको नेपाली टिममा युकेश गुरुङ, विशाल थापा, विजय गौतम र शेरबहादुर गुरुङ थिए ।

प्रतियोगिता अन्तर्गत तीन दिनको खेलबाट कोरियाको टिमले ४८ अंक सहित दोस्रो र ४५ अंक ल्याएको जर्मनी तेस्रो बन्यो । लगातार तीन दीन प्रतिकुल मौसमका कारण न्यूनतम एक घण्टा पनि प्रतियोगिहरुले आकासमा उडान गर्न नसकेका कारण खेल स्थगित भएको थियो । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा उक्त प्रतियोगिता भएको हो ।

कोरियाले एकलतर्फको प्रतिस्पर्धामा उपाधिका जितेको छ । कोरियाका जङमेन चोइले २ हजार २ सय २० अंकका साथ उपाधि जित्न सफल भए । नेपालका विशाल थापाले २ हजार १ सय ४७ अंकका साथ दोस्रो बने । कोरियाकै चिक्योङ हा ले २ हजार १ सय ३० अंकका साथ तेस्रो बने । नेपालका बिजय गौतम भने चौथो बने ।

त्यसैगरि, अमेरिकाकी ग्यालेन कर्कप्याट्रिकले महिला एकलतर्फको उपाधि जित्न सफल भइन् । उनले तीन दीनको खेलमा १ हजार १ सय ६० अंकका साथ प्रथम बनिन् । कोरियाकी याना ली ७ सय ४७ अंक ल्याउदै दोश्रो भइन भने स्विजरल्याण्डकी सुसन स्टोफरले ३ सय ७१ अंकका साथमा तेश्रो भइन् ।

नेपाल तर्फको १९ औं च्याम्पियनसीप अन्तरगत विशाल थापाले उपाधि जिते । त्यसैगरी, विजय गौतम दोस्रो र आशिष थापा तेस्रो बने । सुरज थापा चौथो र युकेश गुरुङ पाँचौ स्थानमा रहे ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार), अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङलगायतले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे । पोखरामा पहिलो पटक भएको यस वल्र्ड कप एशियन टुरमा २० देशका ९४ जना प्यराग्लाइडिङ पाइलटले सहभागिता जनाएका थिए ।