पोखरामा प्रदेशस्तरीय हक्की प्रतियोगिता शुरु

प्रतियोगतामा विभागीय नेपाल आर्मी सहित प्रदेश नम्बर ५, गण्डकी प्रदेश, सुदूरपश्चिम, प्रदेश नं २, प्रदेश नं १ गरी ६ टिमले प्रतिस्पर्धा गर्दैछ

जनसम्मत
फागुन १८, २०७६, आइतबार

पोखरा । पोखरामा सहाना प्रधान स्मृति दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगिता शुरु  भएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

नेपाल हक्की संघले पोखरा रंगशालास्थित आर्चरी मैदानमा शुरु गरेको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ ।

आर्मीले घरेलु गण्डकी प्रदेशलाई ३–० ले हराउँदै ३ अंक बटुलेको छ । आर्मीका लागि अञ्जना चन्दले २ गोल र सिताकुमारी चौधरीले १ गोल गरिन् । अञ्जनाले ७ र ३० औं मिनेटमा गोल गरिन् । उक्त खेलमा आर्मीकी अञ्जना चन्द ‘म्यान अफ दी म्याच’ बनिन् ।

दोस्रो खेलमा प्रदेश नम्बर ५ र सुदुरपश्चिम प्रदेशले गोलरहित बराबरी खेल्दै समान १/१ अंक बाँडे । उक्त खेलमा सुदूरपश्चिमकी करुणा फगामी ‘म्यान अफ दी म्याच’ बनिन् ।

प्रतियोगतामा विभागीय नेपाल आर्मी सहित प्रदेश नम्बर ५, गण्डकी प्रदेश, सुदूरपश्चिम, प्रदेश नं २, प्रदेश नं १ गरी ६ टिमले प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता अन्तर्गत आइतबार २ खेल हुँदैछन् । पहिलो खेल प्रदेश ५ र प्रदेश २ बीच हुनेछ । नेपाल आर्मी र प्रदेश १ बीच दोस्रो खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १५ हजार सहित शिल्ड, मेडल र ट्रफी रहेको छ । लिग कम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगिता २१ गतेसम्म संचालन हुनेछ ।