एसीसी इस्टर्न रिजन टी–२० मलेसियासँग नेपालको हार

मलेसियाले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याएको नेपाल १ बल बाँकी छदै १३२ रनमा समेटियो

जनसम्मत
फागुन १८, २०७६, आइतबार

पोखरा । नेपालले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार ब्यहोरेको छ ।

नेपाल थाइल्याण्डमा मलेसियासँग २२ रनले हार ब्यहोरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निधारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । अविनाष बोहोराले २ विकेट लिन सफल भए । करण केसीले एक मात्रै विकेट लिए । मलेसियाका सैयद अजिज मुवारकले नट आउट ५१ रन बनाए । मोहम्मद अनवर अरुद्दिनले ३१ रन जोडे । अहमद फैज ३० तथा अमिनुद्दिन रमलीले २९ रन बनाए ।

मलेसियाले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याएको नेपाल १ बल बाँकी छदै १३२ रनमा समेटियो । लिगका आधारमा संचालन भएको प्रतियोगितामा ५ टिम सहभागी छन् । इस्टर्न रिजनका शीर्ष २ टिमले वेस्टर्न रिजनका शीर्ष २ टिमबीच एसियाकप क्वालीफायरका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कप क्रिकेटका लागि महत्वपूर्ण रहेको यो प्रतियोगितामा पहिलो खेलको हारले उपाधि जित्ने लक्ष्यमा नेपालाई धक्का लागेको छ ।

नेपालको शुरुवात राम्रो हुन सकेन । कुशल मल्ल र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । तर पहिलो ओभरमै खाता नै नखोली कुशल मल्ल आउट बने । लगत्तै क्रिजमा आएका पारस खड्का र ज्ञानेन्द्र मल्लले २१ रनको साझेदारी गरे । पारस खड्का ९ रन बनाएर आउट भए । त्यसपछि कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६७ रनको साझेदारी गरे ।

टिमको स्कोर ८९ रन हुँदा कप्तान ज्ञानेन्द्र आउट हुन पुगे । ज्ञानेन्द्र ३८ रन बनाएर पेभेलियन फर्किए । ज्ञानेन्द्रले ३३ बल फेस गर्दा तीन चौका र एक छक्का प्रहार गरे । चौथो विकेटको रुपमा नेपालले दीपेन्द्रलाई गुमायो । दीपेन्द्र समेत व्यक्तिगत ३८ रन बनाएर आउट भए । दीपेन्द्रले ४० बल फेस गर्दा १ चौका प्रहार गरे । पाँचौं विकेटको रुपमा पवन शर्राफ आउट भए । १४ बलमा १९ रन बनाएका पवनले १ छक्का र १ चौका प्रहार गरे ।

छैटौं विकेटको रुपमा आरिफ शेख १२४ को स्कोर हुँदा आउट बनेपछि नेपाल दबाबमा आएको थियो । आरिफ व्यक्तिगत ५ रनमा पेभेलियन फर्किए । १८.२ ओभरमा १२९ रन बनाउँदा करण केसी सातौं विकेटको रुपमा आउट बने । करण २ रनमा आउट बने । आठौं विकेटको रुपमा विनोद भण्डारी १९.२ ओभरमा नेपालको स्कोर १३२ रन हुँदा आउट बने । विनोद ७ रन बनाउँदै बाहिरिए । लगत्तै सन्दीप नवौं विकेटको रुपमा १ रन बनाएर आउट बने ।

लगत्तै सुशन भारी समेत आउट बनेपछि नेपाली टिम १ बल बाँकी छदै १३२ रनमा समेटिन पुग्यो । मलेसियाका श्रविन मुनिडीले ४ विकेट लिए । पवनदीप जगजित सिंह, सेदरुल इद्रिस, खैजर हायातले समान २/२ विकेट लिए ।