गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई कलश सहकारीको सहयोग

सहयोगका लागि पोखराको कलश बचत तथा ऋण सहकारी संस्थाले धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ७५ हजार प्रदान गरेको हो

जनसम्मत
फागुन १८, २०७६, आइतबार

पोखरा । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगका लागि पोखराको कलश बचत तथा ऋण सहकारी संस्थाले ७५ हजार प्रदान गरेको हो ।

निर्माणधीन रंगशालामा पुगेको सहकारीको टोलीले उक्त रकम प्रदान गरेको हो । सहकारीका अध्यक्ष दुर्गाप्रसाद सुबेदीले रंगशाला निर्माणका सदस्य कुमार कट्टेललाई सो रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रकम प्रदान गरिएको बताए । उनले कलाकार सीताराम कट्टेल धुर्मुस तथा कुञ्जना घिमिरे सुन्तलीले थालेको विकासको अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे ।

कलाकार कुमार कट्टेलले देश भित्र बनिरहेको रंगशाला नेपालीकै रंगशाला भएको बताए । उनले हरेक जिल्लाबाट स्वतः स्फुर्त सहयोग जुटिरहेकोमा उत्साहित भएको बताए । सहयोग गरे वापत फाउण्डेशनले सहकारीलाई सम्मानपत्रद्धारा सम्मान गरेको थियो ।

कलाकार सीताराम कट्टेल तथा कुञ्जना घिमिरेको अगुवाईमा धुर्मुस फाउण्डेसनले निर्माण गरिरहेको रंगशाला २० बिघा ६ कट्ठा क्षेत्रफलमा निर्माण हुँदैछ । नेपालमै पहिलो पटक बन्न लागेको २५ हजार दर्शक क्षमताको रंगशालामा ४ प्रवेशद्वार रहनेछन् । मुख्य प्रवेशद्वार नेपालको झल्को दिने रहनेछ ।

निर्माणका लागि अगाडी सारिएको रंगशाला क्रिकेटका अलावा अन्य खेलकुद आयोजना गर्न योग्य रहने फाउन्डेसनले बताएको छ । रंगशालासँगै २ छुट्टै अभ्यास मैदानसमेत हुनेछन् । यस्तै, क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डन्डीबियो, लन टेनिस लगायतका खेलमैदान रहनेछन् ।