वेगनास कपको उपाधि हिमाल एण्ड रक्ष मेमोरिएलले जित्यो

फाइनल खेलमा शिशुवा एफसीमाथि १–० गोलको कठिन जित निकाल्दै रक्ष मेमोरिएलले उपाधि जितेको हो

जनसम्मत
फागुन १८, २०७६, आइतबार

लेखनाथ । हिमाल एण्ड रक्ष मेमोरिएलले दोश्रो संस्करणको सेभेन ए साइड वेगनास कप फुटबलको उपाधी जितेको छ ।

प्रतियोगिाको सम्पन्न फाइनल खेलमा शिशुवा एफसीमाथि १–० गोलको कठिन जित निकाल्दै रक्ष मेमोरिएलले उपाधि जितेको हो । उपाधिसँगै रक्ष मेमोरिएलले १ लाख ५ हजार ५ सय ५५ सहित शिल्ड पुरस्कार जितेको छ ।

उपविजेता बनेको शिशुवा एफसीले ५५ हजार ५ सय ५५ सहित ट्रफी पुरस्कार प्राप्त गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, क्लबका अध्यक्ष राम रानाभाट, क्लबका पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र प्रतियोगिता संयोजक सुभास थकाली लगायतले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

उपाधि विजेता हिमाल एण्ड रक्ष मेमोरिएलको जितका लागि वेलप्रसाद गुरुङ नायक बने । उनले गरेको एक मात्र गोल नै हिमाल एण्ड रक्ष मेमोरिएलको जितका लागि निर्णाय कबने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा वेलप्रसादले हेड गोल गरेका थिए ।

हिमाल एण्ड रक्ष मेमोरिएलका वेलप्रसाद गुरुङ ‘म्यान अफ दी म्याच’ बने । वेलप्रसादले सर्वाधिक गोलकर्ताको पुरस्कार समेत प्राप्त गरे । आयोजक बेगनास रेडका सन्तोष गुरुङ प्रतियोगिताकै सर्वात्कृष्ट खेलाडी बने । उनले कृशाला स्मार्ट वल्र्ड, पृथ्वीचोकको तर्फबाट एउटा स्मार्ट फोन समेत प्राप्त गरे । शिशुवा एफसीका रोशन क्षत्री उत्कृष्ट गोलरक्षक बने । राइजिङ स्टार युथ क्लव अनुशासित टिम बन्यो । उनीहरुले समान ५/५ हजार पुरस्कार पाए । प्रतियोगितामा ३० टिमको सहभागिता थियो।

महाशिवरात्रीको अवसरमा वेगनास ताल किनारमा आयोजित प्रतियोगिताको अन्तिम दिन स्व. धनबहादुर गुरुङको स्मृतिमा छेलो प्रतियोगिता समेत आयोजना गरिएको थियो । लमजुङका सुभास बि.क.ले छेलो प्रतियोेगिताको उपाधि जिते । साँढे सात किलो तौलको छेलोलाई सुभासले १६ मिटर १० ईन्च टाढा फालेर उपाधि जित्न सफल भएका हुन् । उनले उपाधिसँगै २० हजारसँगै ट्रफी र मेडल हात पारे ।