पुलिसलाई हराउँदै मनाङ बुढासुब्बा गोल्डकप च्याम्पियन

धरान रंगशालामा भएको फाइनलमा विभागीय नेपाल पुलिसमाथि ३–१ गोलको जित निकाल्दै मनाङ च्याम्पियन बनेको हो

जनसम्मत
फागुन १८, २०७६, आइतबार

धरान । मनाङ मस्र्याङ्दीले २२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप च्याम्पियन बनेको छ ।

 धरान रंगशालामा भएको फाइनलमा विभागीय नेपाल पुलिसमाथि ३–१ गोलको जित निकाल्दै मनाङ च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेसँगै मनाङले १० लाख र ट्रफी पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिसले ५ लाख सहित ट्रफी पुरस्कार जितेको छ । प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

मनाङको जितमा दयानन्द सिंह, निशान लिम्बु र विमल रानामगरले गोल गरे । पुलिसका भोला सिलवालले पेनाल्टीमार्फत एक गोल फर्काए ।

खेलको पहिलो हाफको १० औँ मिनेटमा मनाङका दयानन्द सिंहले गर्दै अग्रता दिलाए । त्यस्तै ४९ औँ मिनेटमा विमल रानामगरको पासमा निशान लिम्बुले उत्कृष्ट गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । खेलको ६७ औ मिनेटमा पुलिसका भोला सिलवालले पेनाल्टीमार्फत १ गोल फर्काए । खेलको इन्जुरी समयमा मनाङका विमलले थप १ गोल गर्दै मनाङलाई उपाधि दिलाए ।

मनाङका अञ्जन बिष्ट खेलको ‘म्यान अफ दी फाइनल’ बन्दै १५ हजार हात पारे । मनाङकै बिमल राना ‘बेष्ट गोल अफ दी डे’ बन्दै ५ हजार पुरस्कार पाए । मनाङका सुरज विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक थान स्कुटर हात पारे ।

खेलमा मनाङका कोच फुजा टोपे ‘बेष्ट कोच’ घोषित भए । त्यस्तै, मनाङका दयानन्द सिंह सर्वाधिक गोलकर्ता बन्दै ३५ हजार पुरस्कार पाए । मनाङका अशोक बराल बेष्ट गोलकीपर, पुलिसका सुमन सुवेदी बेष्ट डिफेन्डर, मनाङका पुजन उपरकोटी बेष्ट मिड फिल्डर र पुलिसका जुमानु राई बेष्ट फरवार्ड बन्दै समान २५/२५ हजार पुरस्कार पाए ।