पोखराको फेवातालमा शनिबार हुने ट्रायथलनमा २७ र दुआथलनमा १३ जनाको कडा प्रतिस्पर्धा

एशियन कपको ट्रायथलन च्याम्पियनसीप

जनसम्मत
वैशाख १२, २०७६, बिहीवार

पोखरा । एशियन कप ट्रायथलन प्रतियोगिता शनिबार पोखरामा हुने भएको छ ।

नेपाल ट्रायथलन संघको आयोजनामा पहिलो पटक नेपालको सुन्दर नगरी पोखरामा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुने भएको हो ।
अन्तराष्ट्रिय ट्रायथलन युनियनको मान्यताप्राप्त प्रतियोगिता पोखराको फेवा तालमा हुनेछ । जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशलगायतका विदेशी खेलाडीहरु प्रतिस्पर्धाका लागि नेपाल आइसकेका छन् । जापानी र कोरियन खेलाडीहरु पोखरा आई पुगिसेकेका छन् ।

दक्षिण एशियामा नै पहिलो पटक हुन लागेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउने सवै भन्दा बढि खेलाडीहरु जापानका छन् । विश्व वरियतामा ६३ औं स्थानमा र क्षेत्रिय बरियतामा दोश्रो नम्बरमा रहेका जापानी खेलाडी माकोतो ओदाकुराले समेत यस प्रतियोगितामा सहभागिता जनाउने अन्तराष्ट्रिय ट्रायथलन युनियनले जनाएको छ ।

पुरुषतर्फ १९ र महिलातर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ नेपलका खेलाडीहरु नितेश मानन्धर, बसन्त थारु र दिपेश चौधरीले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ सोनी गुरुङ र केशरी थापामगरले प्रतिस्पर्धा गर्नेछन् । नेपाली खेलाडीहरुका बीच मात्र हुने दुवाथलनमा ५ महिला र ८ पुरुष खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा ट्रायथलन र दुवाथलनतर्फ प्रतिस्पर्धा हुने छ । ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड हुनेछ । दुआथलन स्प्रिन्टमा ५ किमि दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । आयोजकले प्रतियोगिताको लागि गौरीघाटदेखि मुस्ताङ चोकसम्मको स्थललाई तोकेको छ ।

एशियन कपअन्तरगत दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसीपसमेत आयोजना गरिने छ । नेपालले यसअघि छैटांै पटकसम्म दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसीपको आयोजना गरि सकेको छ । नेपालले आयोजना गरेको अन्तराष्ट्रिय प्रतियोगिताको स्तरलाई हेरेर अन्तराष्ट्रिय महासंघले नेपाललाई एशियन कपको आयोजना गर्ने अवसर प्रदान गरेको हो ।

कुनैपनि अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न अन्तराष्ट्रिय ट्रायथलन युनियन (आइटीयु) को मान्यता लिनुपर्ने हुन्छ । नेपालले दक्षिण एशियमा नै अन्य राष्ट्रमा गर्न नसकेको प्रतियोगिता लगातार छैटौं पटकसम्म संचालन गरिसकेको छ । त्यस मध्येको परिणामलाई हेरेर आइटीयुले नेपाललाई एशिया कपको आयोजना गर्न दिएको नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए ।

प्रतियोगिताको दौरान हुने दुर्घटनालाई ध्यानमा राखेर संघले पोखरा नगरबासीसँग सहयोगको आह्वान समेत गरेको छ । यस प्रतियोगितामा खेल्ने खेलाडीको एक साइकलको मूल्य करिव १५ लाखसम्म पर्छ । खेलका दौरानमा उनीहरुले चलाउने साइकल र दौडको गति अत्याधिक रहने भएकोले सानो मात्र अवरोध आएपनि खेलाडीहरुका लागि ठूलो नोक्सानी हुने भएकोले प्रतियोगिताका लागि छुट्याइएको रुट गौरीघाटदेखि मुस्ताङ चोकसम्मको स्थानमा सवारी आवागमन र अवरोधलाई हटाउन पोखरा नगरबासीसँग हामी अपिल गरिएको छ ।
संघका अध्यक्ष श्रेष्ठका अनुसार यसका लागि नेपाल पुलिस, एपीएफ, ट्राफिक र सेनाहरुसँग छलफल भई सकेको र त्यसको लागि उनीहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतियोगितामा खेलाडीहरुको दुर्घटनालाई मध्यनजर राखेर काठमाण्डौ र पोखराका स्वास्थ्यकर्मीहरुको टोली परिचालन हुने र खेलाडीहरुको पहिलो पटक खेल स्थलमा नै प्रतिवन्धित औषधीको प्रयोगलाई निरुत्साहित गर्न डोपिङ टेष्ट गरिने समेत अध्यक्ष श्रेष्ठले बताए ।
यसका साथै खेलाडीहरुको दुर्घटना वीमासमेत गरिएको छ । खेलका दौरानमा खेलाडीको मृत्यु भएमा १५ लाख र साधारण चोट पटक लागेमा अस्पताल खर्च र औषधोपचारका लागि ५० हजारको बीमा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

नेपालमा ट्रायथलन खेलको विकास र विस्तार गर्नुका साथै यस खेलमार्फत विश्वलाई नेपालको पर्यटकीय गन्तब्यको रुपमा पहिचान गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताको तयारी सम्वन्धी सुनिश्चिततालाई अध्ययन गर्न अन्तराष्ट्रिय निर्णायक टोली यस अघिनै पोखरा आइसकेका छन् । यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न र बैदेशिक खेलाडीहरुलाई हार्दिक आतिथ्यता प्रदान गर्न पोखरा महानगरपालिकालगायत पर्यटनसँग सम्वन्धित संपूर्ण संघसंस्था तथा ब्यक्तिहरुको साथ मिल्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिताका लागि संपूर्ण तयारी पूरा भएको र बाँकी केही तयारी शुक्रबारसम्म सम्पन्न हुने संघले जनाएको छ । प्रतियोगिताको सफलताका लागि प्रदेश सरकार, स्थानीय सरकार, पर्यटन बोर्डलगायतले सहयोग गर्ने प्रतिवद्धतासमेत ब्यक्त गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

संघलाई राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरी आधिकारिक संघको रुपमा स्थापना भएको हो । १२ औं दक्षिण एशियाली खेलकुदमा पहिलो पटकको सहभागितामा नै नेपालले टिम स्पर्धामा रजत र रोजा केसीले ब्यक्तिगततर्फ कास्य पदक हात पार्न सफल भएकी थिइन् ।