दीपक बज्रचार्यले ल्याए, ‘एक अर्कासँग मिलौं, चक्रव्युह तोडेर जितेर अघि बढौं’ बोलको लक–डाउन गीत

सरकारले देशभर लक–डाउनको घोषणा गरिरहँदा बज्राचार्यले भने फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाइरहेका छन्

जनसम्मत
चैत्र १३, २०७६, बिहीवार

पोखरा । गायक दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ हाल क्वारेन्टाइनमा छन् । सरकारले देशभर लक–डाउनको घोषणा गरिरहँदा बज्राचार्यले भने फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाइरहेका छन् ।

यसैबीच, मनोरञ्जनसँगै उनले सामाजिक सञ्जालमार्फत कोरोनाबारे सचेत पनि गराइरहेका छन् । हालै बज्रचार्यले युट्युबमार्फत ‘लक–डाउन .., लक–डाउन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । जसमा उनले कोरोनाको संक्रमण कम गर्नको लागि विश्वभरी भइरहेको लक–डाउन र त्रासबारे वर्णन गरेका छन् ।

उनले आफ्नो फेसबुक पेजमा नयाँ गीत सार्वजनिक गर्दै उक्त गीत अहिलेको अवस्थासँग मिल्दो जुल्दो रहेको र लिरिक्स पनि तुरुन्तै रचना गरिएको उल्लेख गरेका छन् । दीपक बज्रचार्यको स्वर रहेको उक्त गीतको शब्द बिजेन्द्र बज्रचार्यले लेखेका हुन् ।

उनले लेखेका छन् ‘यो गीत बनाउनुको मुख्य हाम्रो उद्देश्य भनेको संसारको वर्तमान अवस्थालाई स्वीकार्नु र यस मार्फत सकारात्मक हुनु हो । संभव भएसम्म मनोरञ्जन गर्नु हो । लक–डाउनको अवस्था छिट्टै नियन्त्रणमा आउनेछ र त्यतिन्जेलसम्म सुरक्षितसँग घरमै बस्न सबैलाई आग्रह छ ।’