पोखरा महानगरले थाल्यो महानगरभित्र छर्न ‘डिसइन्फेक्सन स्प्रे’

विशेषगरी, भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा किटनाषक औषधी छरिएको महानगरपालिकाले जनाएको छ

जनसम्मत
चैत्र १४, २०७६, शुक्रबार

पोखरा । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन पोखरा महानगरले कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनाषक औषधी छर्कने कार्य शुरु गरेको छ ।

किटनाषक औषधी छर्कने कार्यको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरका विभिन्न ठाउँमा किटनाषक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको हो ।

बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनाषक औषधी छर्न सुरु गरेको महानगरले शुक्रबार जिरो किमीदेखि हल्लनचोक, लेकसाइड हुँदै सहिदचोकसम्मको सडकमा किटनाषक औषधी छर्केको हो । लेकसाइड क्षेत्रमा किटनाषक औषधी छर्न महानगरले दमकल प्रयोग गरेको थियो । त्यसैगरी, हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोक लगायतका ठाउँमा किटनाषक औषधी छरिएको हो ।

विशेषगरी, भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा किटनाषक औषधी छरिएको महानगरपालिकाले जनाएको छ । बिहीबार पोखराको चिप्लेढुंगा क्षेत्रमा समेत किटनाषक औषधी छरिएको थियो ।

महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौताराहरु लगायत सडकका ओसिलो र घाम नलाग्ने ठाउँहरुमा किटनाषक औषधी छरिने बताए । मेयर जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीलाई अनुरोध समेत गरेका छन् ।