नयाँ वर्ष २०७७ को बैशाख ३ गतेसम्मका लागि दोस्रो पटक लकडाउनको अवधि थपियो

सरकारले दोस्रो पटक थपेको लकडाउनको अवधि नयाँ वर्ष २०७७ को वैशाख ३ गतेसम्म रहनेछ

जनसम्मत
चैत्र २४, २०७६, सोमबार

पोखरा । नेपाल सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवधि थप गरेको छ ।

कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन थप गर्ने निर्णय गरेको हो । यसअघि, सरकारलाई सुदुर पश्चिम प्रदेश सरकार र कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो । सरकारले दोस्रो पटक थपेको लकडाउनको अवधि नयाँ वर्ष २०७७ को वैशाख ३ गतेसम्म रहनेछ ।

सरकारले पहिलो चरणको लकडाउन चैतको ११ गतेदेखि १८ गतेसम्मका लागि घोषणा गरेको थियो । त्यस्तै, सरकारले दोस्रो चरणमा थप एकसाताका लागि चैत २५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो ।

पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितको संख्या थपिँदै गएपछि सरकारले लकडाउनको अवधि पनि थप गर्दै लगेको हो । नेपालमा हालसम्म ९ जना कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ। त्यसमध्ये १ जना निको भएर घर फर्किसकेका छन् । बाँकी ८ जनाको अस्पतालमा उपचार भइरहेको छ ।