अब, कास्कीमा एकद्वार प्रणालीबाट मात्रै राहत वितरण

राहतको नाममा जथाभावी संकलन एवं वितरण कार्यपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार सूचना जारी गर्दै राहत वितरणमा कडाइ गरेको हो

जनसम्मत
चैत्र २४, २०७६, सोमबार

पोखरा । राहत वितरण नाममा विभिन्न व्यक्ति तथा संघसंस्थाले आफूखुसी नगद, जिन्सी र खाद्यान्न संकलन गर्न थालेपछि कास्कीको जिल्ला प्रशासनले कडाइ गरेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेको अवस्थामा सोको बेवास्ता गर्दै राहतको नाममा जथाभावी संकलन एवं वितरण कार्यपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार सूचना जारी गर्दै राहत वितरणमा कडाइ गरेको हो । देशभर लकडाउनपछि विपन्न तथा गरीब वर्ग बढी मारमा पर्दा कास्की सहित देशभर आफूखुसी राहत वितरण हुँदै आएको छ ।

प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी सूचनामा उल्लेख छ, ‘कोही कसैले आफ्नैतर्फबाट राहत वितरण गर्न चाहेमा स्थानीय आवश्यकता र औचित्य पुष्ट्याई सहित सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृति लिएरमात्र एकद्वार प्रणालीबाट राहत वितरण गर्न सकिनेछ ।’

साथै, सोविपरीत कोही कसैबाट यस प्रकृतिका कार्यहरु गर्ने वा गराउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

उता, पोखरा महानगरपालिकाले समेत एकद्वार प्रणालीबाट व्यवस्थित रुपमा राहत वितरणको व्यवस्था मिलाइएको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिएका छन् ।

केही संघसंस्थाले स्थानीय तहको स्वीकृति र समन्वयबिना राहत संकलन भइरहेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै राहत वितरण व्यवस्थित र एकद्वार प्रणालीमार्फत गर्न केन्द्र, प्रदेश र स्थानीय तहले निर्णय गरेकोले सोको अक्षरशः पालना गर्न महानगरले सबैमा अनुरोध गरेको छ ।

(ई–आदर्श डट कममा विजय नेपालको समाचार छ)