म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक

नोबेल कोरोना (कोभिड–१९) को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो

एजेन्सी
चैत्र २५, २०७६, मंगलवार

इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ ।

नोबेल कोरोना (कोभिड–१९) को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो ।

म्यानचेस्टर सिटीले यस विषयमा ट्वीटरमार्फत जानकारी दिएको हो । क्लबले ट्वीटरमा लेखेको छ, ‘पेपकी आमा डोलोर्स साला कार्रियोको मृत्युबारे जानकारी गराउनुपर्दा हामी दुखित छौं । उनी ८२ वर्षकी थिइन् । क्लबसँग आबद्ध सबैले यस समय पेप, उनको परिवार र साथीभाईलाई समवेदना सन्देश पठाएका छन् ।’

(कोभिड–१९) का कारण स्पेनमा १३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ग्वार्डिओला क्याटालोनियाका स्थानीय हुन् । यहाँ (कोभिड–१९) ले करिब २ हजार जनाको ज्यान लिइसकेको छ । अवस्था निकै खराब हुने र मृतकको संख्या बढ्ने जोखिम देखेपछि यहाँका स्थानीयलाई सरकारले आफैं सुरक्षित रहनु भनेको छ ।

४९ वर्षका पेप बार्सिलोना क्लबका स्टार थिए । उनले खेलाडीका रुपमा कप्तानको भूमिका निर्वाह गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिग समेत जिताएका थिए । प्रशिक्षकका रुपमा रहेर पनि क्लबलाई यस उपाधि जिताए । त्यसयता, उनले जर्मनीमा बार्यन म्युनिखलाई समेत प्रशिक्षक रहेर बुन्डेगालिगा जिताए ।

म्यानचेस्टर सिटीको प्रशिक्षण सम्हालेयता उनले क्लबलाई दुई प्रिमियर लिग उपाधि जिताइसकेका छन् ।