आइसीसी वरीयताको एक दिवसीयमा नेपाल उही १६ औं र टी–२० मा १५ औं स्थानमा

एकदिवसीय क्रिकेटमा नेपालले १२ खेलमा २० रेटिङ पाएको छ । त्यस्तै, टी–२० मा २७ खेलमा १ सय १८ रेटिङ पाएको छ

जनसम्मत
चैत्र २७, २०७६, बिहीवार

पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को वरीयतामा नेपालले आफूलाई उही १६ औं स्थानमा कायम राखेको छ ।

त्यस्तै, आइसीसी टी–२० मा नेपालले १५ औं स्थान कायम राख्न सफल भएको छ । एक दिवसीय र टी–२० को वरीयतामा नेपालले अघिल्लै महिनाको स्थानलाई कायम राखेको हो ।

एकदिवसीय क्रिकेटमा नेपालले १२ खेलमा २० रेटिङ पाएको छ । त्यस्तै, टी–२० मा २७ खेलमा १ सय १८ रेटिङ पाएको छ ।

ब्यक्तिगततर्फ एकदिवसीय वरीयतामा नेपालका कुनैपनि खेलाडी शीर्ष १ सयमा समेत अँटाएनन् । त्यसैगरि, टी–२० को ब्याटिङमा पारस खड्का ७५ औं स्थानमा यथावत रहेका छन् । बलिङमा सन्दिप लामिछानेले थोरै अघि बढेका छन् । उनी, हाल ८४ औं स्थानमा आएका छन् । यसअघि, सन्दीप १ स्थान तल रहेका थिए ।

यस्तै, टी–२० को अलराउण्डमा पारस २६ औं स्थानमा यथावत रहेका छन् । सोमपाल कामी ७३ औं स्थानमा कायम छन् । करण केसीले आफूलाई ८८ औं स्थानमा राख्न सफल भएका छन । यसअघि, करण ८५ औं स्थानमा थिए ।

एकदिवसीयमा इङ्ल्याण्ड शिर्ष स्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा भारत, तेस्रो स्थानमा न्यूजिल्याण्ड, चौथो स्थानमा दक्षिण अफ्रिका र पाँचौ स्थानमा अष्ट्रेलिया रहेको छ ।

टी–२० को वरीयतामा पाकिस्तान पहिलो स्थानमा रहेको छ । दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा इङ्ल्याण्ड रहेको छ ।

यतिबेला, कोरोना भाइरसका कारण विश्वकै खेलकुद गतिविधिहरुसँगै ठप्प छन् । क्रिकेट गतिविधिहरु पनि ठप्प छन् । यस्तो बेलामा आइसीसीको वरीयतामा पनि कुनै तात्विक फरक आएको छैन ।

अघिल्लो महिनामा क्रिकेट राष्ट्रहरुको जुन वरीयता थियो । त्यही, वरीयतालाई ति राष्ट्रहरुले आफूलाई कायम राखेका हुन् । यसका साथै शीर्ष टिमहरुको वरीयतामा पनि कुनै फरकपन आएको छैन ।

कोरोनाका कारण खेलमात्र होइन, आइसीसीको मुख्यालय समेत बन्द रहेको छ । त्यसैले कुनैपनि टिमको वरीयतामा परिवर्तन आएको छैन ।