बन्द रंगशालामा भएपनि आइपीएल हुनुपर्नेमा कमिन्सको जोड

कोरोना भाइरसको महामारीका कारण भारतमा २ सय २८ जनाको ज्यान गइसकेको छ । अहिलेसम्म ६ हजार ७ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ

एजेन्सी
चैत्र २९, २०७६, शनिबार

अस्ट्रेलियाली बलर पाट कमिन्सले दर्शकका लागि बन्द रंगशालामा भएपनि इन्डियन प्रिमियर लिग –आइपीएल) खेल हुनुपर्नेमा जोड दिदैँ आएका छन् ।

‘बन्द रंगशालामा भएपनि आइपीएल गरेर व्यावसायिक क्रिकेटलाई जोगाउनुपर्छ,’ कमिन्सले भनेका छन्।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण मार्च २९ मा सुरु हुनुपर्ने आइपीएल १५ अप्रिलसम्मका लागि सारिएको थियो । पछिल्लो समय भारतमा महामारी क्रमशः विस्तार भइरहेका कारण विश्व क्रिकेटको सबभन्दा महँगो र आकर्षक फ्रेन्चाइज प्रतियोगिता अझै पछि सर्ने निश्चित जस्तै छ ।

कोरोना भाइरसको महामारीका कारण भारत पछिल्लो ३ सातादेखि लकडाउनमा छ । त्यहाँ, महामारी नियन्त्रणमा आउनुको साटो संक्रमितहरू प्रत्येक दिन बढिरहेका छन् । भारतमा २ सय २८ जनाको ज्यान गइसकेको छ । अहिलेसम्म ६ हजार ७ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

टेस्ट क्रिकेटका शीर्ष बलर कमिन्स विज्डेनले यसै साता घोषणा गरेका वर्षका ५ उत्कृष्ट क्रिकेटरमध्ये एक हुन् । आइपीएलमा कोलकाता नाइट राइडर्ससँग १७ लाख डलरको सम्झौता गरेका उनी प्रतियोगिता इतिहासकै सबभन्दा महँगो विदेशी खेलाडी हुन् ।