समृद्धिका लागि काँग्रेस–कम्युनिष्ट एक भएर जाउँ : उपप्रधानमन्त्री पोखरेल

सन्दर्भ: नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस

जनसम्मत
वैशाख १४, २०७६, शनिबार

पोखरा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशको समृद्धि र विकासका लागि काँग्रेस–कम्युनिष्ट मिलेर जानुपर्नेमा जोड दिएका छन् ।

उनले समृद्धि र विकासका लागि सहकार्य गर्न काँग्रेससमक्ष आग्रह गरे ।

‘विकासका लागि काँग्रेस–कम्युनिष्ट नभनीकन सहकार्य गर्न कम्युनिष्ट पार्टी र सरकार तयार छ,’ मन्त्री पोखरेलले भने, ‘हिँजो प्रजातन्त्रका लागि एकसाथ सँगै लड्यौं । काँग्रेस–कम्युनिष्ट एकापसमा लडेर जाँदा देशलाई नोक्सान भएको छ । मिलेर जाँदा देशलाई फाइदा पुगेको छ ।’

नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा मदन भण्डारी फाउण्डेसन कास्कीद्वारा शनिवार पोखरामा आयोजित ‘बर्तमान आर्थिक सामाजिक संरचना र समृद्धिको यात्रा’ विषयक बहस कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले लोकतन्त्रलाई ‘पालो प्रणाली’को संज्ञा दिए ।

‘लोकतान्त्रिक राजनीतिमा प्रतिस्पर्धा गर्दा कसैले हारेका छौं, कसैले जितेका छौं,’ उनले भने, ‘कसैले पनि उखरमाउलो देखाउन जरुरी छैन । लोकतन्त्र पालोको प्रणाली पनि हो । हाम्रो परीक्षा लिने त जनताले हो । हामी परीक्षा दिन तयार छौं ।’

मन्त्री पोखरेलले सरकार तानशाह बन्न नसक्ने जिकिर गरे । जनताका अधिकार स्थापनाका लागि ७० बर्षदेखि देखि लडेको पार्टी अधिनायकवादी बन्न नसक्ने उनको जिकिर थियो ।

मन्त्री पोखरेलले नेकपाको सरकारले एक वर्षे अवधिमा विकासको जग वसालेको प्रष्ट पारे । अवको राजनीति भनेको देशको समृद्धि नै रहेको उनले अथ्र्याए । कम्युनिष्ट पार्टीले चुनावमा अघि सारेको घोषणापत्र र सरकारको नीति तथा कार्यक्रम नै विकासका मोडेल रहेको मन्त्री पोखरेलले प्रष्ट पारे ।

‘सरकारले एक वर्षे अवधिमा विकासको जग वसालेको छ,’ उनले भने, ‘अब, सरकारले देशलाई विकास र समृद्धितर्फ अगाडि वढाउने छ । अवको राजनीति भनेको समृद्धि नै हो । अबको विकासको मोडेल भनेको निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रद्वारा संयुक्त रुपमा अगाडि सारिएका घोषणा पत्र अनुसार नै हुन्छ । आम नागरिकले त्यस्तो विकासको अनुभूति छिट्टै गर्न सक्नेछन् । कम्युनिष्ट पार्टीले चुनाव लड््दाको घोषणापत्र र सरकार बनाइसकेपछिको नीति तथा कार्यक्रमको दुबै कितावलाई सँगै राखेर हेर्नुहोला । चुनावमा हामीले कबुल गरेका काम गर्छौ कि गर्दैर्नौ ? हाम्रो जाँच गर्नुहोला ।’

उनले कृषिमा व्यवसायीकरण, उद्योग क्षेत्रमा विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन, पर्यटन, उर्जाका क्षेत्रमा सरकार अगाडि बढ्ने दावी गरे । उनले जनतालाई राजनीतिक रुपमा सचेत पार्नुपर्ने औंल्याए । असचेत र अराजक जनता सबैभन्दा खतरा हुने उनको भनाई थियो । जनताहरुलाई असल संस्कारको राजनीति दिनुपर्ने उनको जिकिर थियो ।

कम्युनिष्ट एकता, कुनै क्लब बनाउन होइन : नेता शर्मा

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य जनार्दन शर्माले कम्युनिष्ट पार्टीको एकता क्लब बनाउन नभई मुलुकमा समाज स्थापनाका लागि रहेको बताए ।

‘एकताका लागि मात्र पार्टी एकता गरिएको होइन,’ नेता शर्माले भने, ‘हाम्रा संस्थापकहरुले देखेको सपना, अग्रजहरुले गरेको योगदान, सहिदहरुको त्याग र वलिदानलाई स्थापित गरेर सामाजिक न्याय, समतामुलक समाज र समाजवाद निर्माणका लागि एकता हो ।’

उनले मुलुकमा कम्युनिष्टको सत्ता नभर्ई कम्युनिष्टको सरकार रहेको बताए । हालसम्म पनि पार्टी र सरकार पुरानै संस्कार र प्रवृत्तिको घेरावन्दीमा रहेको शर्माले प्रष्ट पारे । गलत तत्वहरुको घेरावन्दीमा सरकारको उनको कथन थियो ।

‘त्यस्ता गलत तत्वहरुलाई पन्छाएर अघि बढ्ने सरकारलाई चुनौति छ,’  शर्माले जोड दिए, ‘आफ्नो चुनौतिलाई पन्छाएर सरकार अगाढि बढ्नुपर्छ ।’

पुँजीवादले मानिसको स्वतन्त्रता समाप्त पार्छ : नेता गिरी

 

कार्यक्रममा सहभागी नेपाली काँग्रेसका नेता प्रदीप गिरीले पूँजीवादले मानिसको स्वतन्त्रतालाई समाप्त पार्ने बताए ।

‘जग्गा, पैसा, भौतिक पूर्वाधारले समाजवादी क्रान्ति सफल हुँदैन,’ नेता गिरीले भने, ‘सत्ता परिवर्तनसँगै राजनीतिमा दलीयकरण बढ्दो छ । यसले कुनैपनि दललाई फाइदा गर्दैैन । सरकारमा बसेका व्यक्तिले आम जनतालाई सशक्तिकरणतर्फ लैजान जरुरी छ । अधिकारहरु तल्लो तहसम्म प्रदान गर्न जरुरी छ ।’

उनले नेपालमा अझै पनि गाँस, बास र कपासको समस्या रहेको औंल्याए ।

उनले भने, ‘त्यसकारण हामीले समृद्धि र समाजवादको परिभाषा बदल्न पनि बदल्न जरुरी छ । विकसित राष्ट्रको जस्तो समाजवाद नेपालभित्र चल्न सक्दैन ।’