कोरोना भाइरस पीडितका लागि पीएसजीले नेयमारको तलबमा ५० प्रतिशत कटौती गर्दै

नेयमारले कोरोना भाइरसविरुद्ध लड्न हालैमात्र युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड आर्थिक सहयोग समेत गरेका थिए

जनसम्मत
चैत्र २९, २०७६, शनिबार

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले ब्राजिलियन सुपरस्टार नेयमारको तलबमा ५० प्रतिशत कटौती गर्ने भएको छ ।

पीएसजीले कोराना भाइरस पीडितको सहयोगका लागि फ्रान्स फुटबल संघको पहलमा नेयमार लगायत खेलाडीको तलब कटौती गर्न लागेको हो ।कोरोनाका कारण फ्रेन्च लिग स्थगित भएपछि नेयमार अहिले ब्राजिलस्थित आफ्नै घरमा बसेका छन् ।

नेयमारले कोरोना भाइरसविरुद्ध लड्न हालैमात्र युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड आर्थिक सहयोग समेत गरेका थिए । युनिसेफले उक्त रकम कोरोनाको संक्रमणबाट पीडित र आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्नेछ ।

यसैगरी, फ्रान्स फुटबल संघले पीएसजीका नेयमारसँगै अन्य क्लबबाट धेरै पारिश्रमिक अर्थात १ लाख भन्दा बढी युरो लिने खेलाडीको पारिश्रमिकमा ५० प्रतिशत, ५० हजारदेखि १ लाख युरोसम्म लिनेको ४० प्रतिशत, २० देखि ५० हजार युरो लिनेको ३० प्रतिशत र १० हजारदेखि २० हजार युरोसम्म लिनेको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।

पीएसजीमा रहेर १० हजार भन्दा कम युरो लिने खेलाडीको पारिश्रमिक भने कटौती नगर्ने क्लबले बताएको छ । फ्रान्स फुटबल संघले खेलाडीमाथि यस्तो नियम एक महिनाका लागि लगाएको हो । यस नियममा खेलाडी युनियनले पनि सहमति जनाएको छ । युनियनका अध्यक्ष फिलिप पीटले हाल एक महिनाको निर्णय गरिएपनि कहिलेसम्मको कटौती गर्ने भन्ने विषयमा थप छलफल गरिने बताएका छन् ।