एशियन फुटबल महासंघ (एएफसी) द्वारा मे र जुन महिनामा हुने सबै फुटबल प्रतियोगिता स्थगित

कोरोना भाइरसको संक्रमणको क्रम नघटेपछि एएफसीले दोस्रो पटक आफ्ना प्रतियोगितालाई स्थगित गरेको हो

एजेन्सी
वैशाख २, २०७७, मंगलवार

एशियन फुटबल महासंघ (एएफसी) द्वारा मे र जुन महिनामा हुने भनिएका एशियाली स्तरका सबै फुटबल प्रतियोगिताहरु स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमणको क्रम नघटेपछि एएफसीले दोस्रो पटक आफ्ना प्रतियोगितालाई स्थगित गरेको हो । एशियाका प्रायः सबै देशले एक देशबाट अर्कोमा जानका लागि प्रतिबन्ध गरेको अवस्थामा एएफसीले श्वास्थ्यको ख्याल गरेर दुई महिनामा हुने प्रतियोगिताहरु सारेको हो । एएफसीले कोरोनाको घटनाहरु नजिकबाट नियाली रहेको छ ।

यसअघि पनि मार्च र अप्रिल महिनामा हुने भनिएको सबै प्रतियोगिता एएफसीले सारेको थियो । जसका लागि भिडियो कन्फ्रेन्सबाट एएफसीले दिल्ली, दोहा, दुबई र क्वालालम्पुरमा बैठकपनि गरेको थियो । जसका कारण नेपालमा हुने भनिएका चाइनिज ताइपेई र अष्ट्रेलियाबीचको खेल पनि स्थगित भएको थियो ।

हाल, स्थगित भएका प्रतियोगिताका लागि अर्को विकल्पका रुपमा नयाँ मिति तोक्ने एएफसीले बताएको छ । एएफसीका लागि ठूलो चुनौतीको रुपमा २०२० को एएफसी च्याम्पियन्स लिग र एएफसी कपको समूह चरणका खेलहरु गर्नु रहेको छ ।

यसका साथै एएफसीले सबै फुटबल संघलाई पनि कठिन परिस्थितिमा संयमित भएर र नकारात्मक कदम नउठाउन आग्रह गरेको छ ।