फर्मुला–१ अन्तर्गतको प्रतिष्ठित फ्रेञ्च ग्राँ पी पनि स्थगित

फ्रेन्च ग्राँ पी जुन २८ मा मार्सेनजिकै रहेको सर्किट पाउल रिचार्डमा हुने तय भएको थियो

एजेन्सी
वैशाख २, २०७७, मंगलवार

फ्रान्समा हुने फर्मुला वानअन्तर्गतको प्रतिष्ठित इभेन्ट फ्रेन्च ग्राँ पी पनि स्थगित हुने भएको छ ।

फ्रान्स सरकारले मध्य जुलाईसम्मका लागि कोरोना भाइरसको महामारीका कारण जारी लकडाउन बढाउने घोषणा गरेपछि उक्त इभेन्ट पनि स्थगित भएको हो । फ्रेन्च ग्राँ पी जुन २८ मा मार्सेनजिकै रहेको सर्किट पाउल रिचार्डमा हुने तय भएको थियो ।

तर, राष्ट्रपति इमानुयल म्याक्रोले सोमबार टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै मानवीय जमघट हुने सबैखाले गतिविधिमा लगाइएको रोक मध्य जुलाईसम्मका लागि लम्बाएपछि फ्रेन्च ग्राँ पी सर्ने निश्चित भएको हो ।

गतवर्ष फ्रेन्च ग्राँ पीमा १ लाख ३५ हजार दर्शक उपस्थित भएका थिए । कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिबाट सर्न लागेको यो १० औं इभेन्ट्स हो । तत्काललाई स्थगित हुने पक्का भएपनि नयाँ मिति भने तय गरिएको छैन ।

फर्मुला वानका प्रवन्ध निर्देशक रस ब्राउनले विश्व च्याम्पियनसीप सिजन यो वर्षभित्र सम्पन्न गरिसक्ने बताएका छन् । अक्टोबरमा पहिलो रेस गर्नु परेपनि यही वर्ष सिजन सम्पन्न गरिसक्ने उनको भनाई छ ।