जापानका माकोतोलाई ट्रायथलन च्याम्पियनसीपको स्वर्ण

प्रथम एशियन कप ट्रायथलन च्याम्पियनसीप

जनसम्मत
वैशाख १४, २०७६, शनिबार

पोखरा । जापानका माकोतो ओदाकुरा प्रथम एशियन कप ट्रायथलन च्याम्पियनसीपमा स्वर्ण हात पारेका छन् ।

माकोतोले निर्धारित ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेण्डमा पार गर्दै स्वर्ण हात पारेका हुन् । उनी विश्व वरियतामा ६३ औं र एयिशन टेरिटोरीमा दोश्रो स्थानमा रहेका खेलाडी हुन् ।

दोश्रो स्थानमा रहेका पोल्याण्डका डान मेसिन्तोशले ५४ मिनट ३४ सेकेण्ड र तेश्रो स्थानमा रहेका दक्षिण कोरियाका जि ह्वान किमले ५५ मिनट २ सेकेण्डमा दूरी पुरा गरे ।

पोखरामा आयोजित च्याम्पियनसीपको महिलातर्फ कोरियाकी य जिन पार्कले १ घन्टा २ मिनट ५६ सेकेण्डमा साथ स्वर्ण हात पारिन् । जापानकी कोनामी युसियुदाले १ घन्टा ३ मिनट ५१ सेकेण्डमा दूरी पार गर्दै रजत र नाओमी ताकामिनेले १ घन्टा ४ मिनट ५५ सेकेण्डका साथ रजत पाए ।

प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै, सातौं दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसीप अन्तरगत नेपालका बशन्त थारुले स्वर्ण हात पारे । उनले १ घन्टा ३ मिनट ५८ सेकेण्डमा दूरी पुरा गरे । दोश्रो स्थानमा लोकेश कुमार बाबुजी रहे । उनले १ घन्टा ७ मिनट १३ सेकेण्डमा दूरी पार गरे । तेश्रो स्थानमा रहेका नेपालका नितेश मानन्धरले १ घन्टा ८ मिनट ३४ सेकेण्डमा दूरी पार गरे ।

महिलातर्फ पहिलो र दोश्रो स्थानमा भारतका प्रग्न्या मोहन र मोनिका मुकेशभाई नागपुर रहे । मोहनले १ घन्टा ९ मिनट २३ सेकेण्डमा र नागपुरले १ घन्टा १२ मिटन ४७ सेकेण्डको समय निकाले । त्यस्तै तेश्रो स्थानमा आएकी नेपालकी सोनी गुरुङले १ घन्टा १८ मिनट ४९ सेकेण्डको समय लगाइन् ।

नेपालका खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे । उनले ५ किमि दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनट १४.३० सेकेण्डमा पुरा गरे । यस्तै, दोश्रो स्थानमा रहेका नेपाली सेनाका ५७ मिनट ३७.४७ सेकेण्ड र तेश्रो स्थानमा रहेका सशस्त्र प्रहरी बल, एपीएफका किरणकुमार मल्लले ५७ मिनट ५८.१७ सेकेण्ड लगाए ।

महिलातर्फ एपिएफकी हुमा बुढामगरले १ घन्टा १० मिनट ४५.२२ सेकेण्ड, सशस्त्र प्रहरी बल, एपीएफकै निर्जता ताम्राकारले १ घन्टा ११ मिनट ३८.३३ सेकेण्ड र दाङकी अनिषा चौधरीले १ घन्टा २२ मिनट ५.०५ सेकेण्डमा साथ पहिलो दोश्रो र तेश्रो स्थान हात पारे ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कार वितरण गरेका थिए ।