सबै अन्तराष्ट्रिय फुटबल प्रतियोगिताहरु एक वर्षपछि सार्ने विश्व फुटबल महासंघ (फिफा) को तयारी

कोरोना भाइरस नियन्त्रणमा आएपछि घरेलु प्रतियोगितालाई प्राथमिकता दिने नीतिसहित फिफाले आफूअन्तर्गत यसै वर्ष हुने अन्य कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता अर्को वर्षलाई सार्ने तयारी गरेको हो

एजेन्सी
वैशाख ५, २०७७, शुक्रबार

विश्व फुटबल महासंघ (फिफा) ले सबै खाले अन्तर्रा्ष्ट्रिय प्रतियोगिता एक वर्ष पछि सार्ने तयारीमा रहेको समाचार छ ।

यसै वर्षका लागि तय भएका केही ठूला अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरु कोरोना भाइरस महामारीका कारण ठप्प भएका फुटबल प्रतियोगितालाई अर्को वर्षका लागि सार्ने तयारीमा फिफा रहेको हो ।

विश्व फुटबल महासंघ (फिफा)ले आफूअन्तर्गत हुने सबै खाले अन्तराष्ट्रिय प्रतियोगिता पनि एक वर्ष सार्ने तयारीमा रहेको छ । कोरोना भाइरस महामारीकै कारण युरोपियन फुटबल महासंघ (युइएफए)ले आगामी जुन–जुलाईमा हुने तय भएको युरोकप अर्काे वर्षका लागि सारेको छ ।

कोरोना भाइरस नियन्त्रणमा आएपछि घरेलु प्रतियोगितालाई प्राथमिकता दिने नीतिसहित फिफाले आफूअन्तर्गत यसै वर्ष हुने अन्य कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता अर्को वर्षलाई सार्ने तयारी गरेको हो ।

फिफाका उपाध्यक्ष भिक्टर मोन्टाग्लियानीले कोरोना महामारीका कारण यो वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता हुने संभावना कम रहेको बताए । मोन्टाग्लियानी कोरोना भाइरस महामारी सुरु भएपछिको संकटपूर्ण अवस्थामा आगामी प्रतियोगिताबारे अध्ययन गर्न फिफाले गठन गरेको समितिका संयोजक समेत हुन् ।

मोन्टाग्लियानीले भनेका छन्, ‘यो मेरो व्यक्तिगत विचार हो । स्वास्थ्यका कारणले मात्र होइन, यात्रा प्रतिबन्धका कारण पनि अब यो वर्ष हामीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गराउन सक्ने अवस्था छैन ।’

संभव नै भएपनि दर्शकविनाका रंगशालामा प्रतिस्पर्धा गराउनुपर्ने उनको धारणा छ । उनले घरेलु प्रतियोगितालाई प्राथमिकता दिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा एक वर्षका लागि पछि सार्नु उपयुक्त हुने बताए । उनले उल्लेख गरे, ‘भाइरस महामारीका कारण अहिले रोकिएका घरेलु लिग र अन्य प्रतिस्पर्धा अर्को वर्ष सुचारु गरिनुपर्छ ।’

भाइरस महामारीकै कारण यो समय सकिसक्नुपर्ने युरोपदेखि अन्य धेरै देशका घरेलु लिग फुटबल रोकिएका छन् ।