कोरोनालाई जितेर २७ दिनपछि घर फर्किएकी युवती भन्छिन, ‘नआत्तिनुस, सजग भएर उपचार गर्दा निको हुन्छ’

भर्ना भएको २७ दिनपछि अस्पतालबाट निस्कँदै गर्दा उनलाई फूल दिएर बिदाई गरिएको थियो । गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै उनी काठमाण्डौ आएकी थिइन्

जनसम्मत
वैशाख ६, २०७७, शनिबार

पोखरा । कोरोना भाइरस (कोभिड १९) लाई जितेर काठमाण्डौकी १९ वर्षीया किशोरी घर फर्किएकी छिन् ।

घर फर्किँदै गर्दा उनले कोरोना भाइरसको संक्रमण हुँदा जसलाई पनि डर लाग्ने भएपनि नआत्तिन उनले आग्रह गरेकी छिन् । उनले भनेकी छिन, ‘रोग भन्नेबितिकै हामी सबै आत्तिन्छौँ । तर, नआत्तिनुस, सजग भएर उपचार गराइयो भने कोरोनाको संक्रमण निको हुन्छ ।’

उनलाई गएको चैत ९ गते टेकु अस्पतालमा भर्ना गरिएको थियो । विदेशबाट फर्किएकाले आफू अस्पतालमा परीक्षणका लागि पुगेको उनले बताइन् ।

उनले भनिन्, ‘अस्पताल आउँदा त्यति धेरै असजिलो भएको थिएन । थोरै असजिलो महसुस भएर परीक्षण गराउन टेकु अस्पताल गएको थिएँ । पोजेटिभ देखियो अनि अस्पतालमा भर्ना भएँ ।’

समयमा नै अस्पताल भर्ना भएकाले रोगलाई जित्न सकेको उनको दाबी छ । उनले आफ्नो उपचारमा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीले राम्रो व्यवहार देखाएको पनि बताइन् । संक्रमणका क्रममा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीको आत्मीय व्यवहारले आफ्नो आत्मबल बढेको उनको भनाई थियो।

अस्पतालमा आफूलाई एक्लोपनको महसुस हुन नपाएको भन्दै उनले उपचारका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइन् ।

भर्ना भएको २७ दिनपछि अस्पतालबाट निस्कँदै गर्दा उनलाई फूल दिएर बिदाई गरिएको थियो । गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै उनी काठमाण्डौ आएकी थिइन् ।

 

(उज्यालो अनलाइनमा समाचार छ)