कोरोनाविरुद्धको लडाइँ जितेर घर फर्किदैँ गरेकी बागलुङकी बृद्धाले भनिन्, ‘मैले आत्मबल बढाएरै कोरोनालाई जितेँ’

कोरोना भाइरसको संक्रमणमा परेकी ६५ वर्षीया बृद्धाको परिवारका सदस्यहरुको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ । उनको सम्पर्कमा आएका केही आफन्त तथा गाउँलेहरुको समेत आरडीटी र थ्रोट स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । सबैको रिपोट नेगेटिभ आएको छ

जनसम्मत
वैशाख ६, २०७७, शनिबार

पोखरा । कोरोना भाइरसविरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् ।

बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि रानामगरले फुल दिएर विदाई गरे ।

उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बी. पोखरेलले बताए । उनलाई परिवारका सदस्यहरु छोरा चिरञ्जीवी शर्मा, ज्वाईं गुरुप्रसाद कँडेल लगायतले अस्पतालबाट घर लगेका हुन् ।

गत ४ चैतमा बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ति बृद्धामा २० चैतमा (कोभिड–१९) पोजेटिभ देखिएको थियो । त्यसपछि, उनको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार, उनले कठिन परिस्थितिबीच कोरोनाको संक्रमणलाई जितेकी छन् । उनमा रहेको स्वासप्रस्वास र उच्च रक्तचापको समस्याबाहेक कुनैपनि औषधि प्रयोग नगरी उनले कोरोनाको संक्रमण जितेकी हुन् ।

पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको डा. पोखरेलले बताए । डिस्चार्ज भएकी उनलाई केही दिन होम क्वारेन्टाइनमा बस्न चिकित्सकहरुले सुझाएका छन् ।

‘मैले पानी धेरै खाएँ । आज, नुहाएको स्वास बढेको छ,’ दमको पुरानै समस्या भएकी पौडेलले भनिन्, ‘आज बरु गाह्रो भयो । अरु दिन त मलाई सबैले सहयोग गर्नुभयो । मैले आत्माबल बढाएरै कोरोनालाई जितेँ ।’

उनले सबैलाई धन्यवाद समेत दिइन् । नेपालमा कोरोना संक्रमण भएर निको हुने उनी तेस्री बनिन् । त्यस्तै, उनी सबैभन्दा धेरै उमेरमा कोरोना संक्रमण भएर निको हुने पहिलो संक्रमित पनि बनिन् ।

कोरोना भाइरसको संक्रमणमा परेकी ६५ वर्षीया बृद्धाको परिवारका सदस्यहरुको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ । उनको सम्पर्कमा आएका केही आफन्त तथा गाउँलेहरुको समेत आरडीटी र थ्रोट स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । सबैको रिपोट नेगेटिभ आएको छ ।

उनीसँगै बेल्जियमदेखि बागलुङसम्म एकैसाथ यात्रा गरेकी बागलुङकै १९ बर्षिया युवतीको भने अञ्चल अस्पतालमा उपचार चलिरहेको छ । उनको चौथो पटकको थ्रोट स्वाबको नतिजा समेत पोजेटिभ आएकाले उपचारको समयावधी थपिएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य छ ।

उनीसँगै कतारदेखि नेपाल आएकी काठमाण्डौकी १९ बर्षिया प्रसिद्वी श्रेष्ठ २७ दिनपछि शनिबारनै कोरोनालाई जितेर घर फर्किएकी छन् । उनी फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी थिइन् । दुवैजनाको ट्रान्जिटपछिको यात्रा कतार एयरवेजमा भएको थियो ।