५ बुँदे पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरको मिडिया सम्मेलन सकियो

पत्रकार महासंघ गण्डकी समिति, प्रदेशस्तरिय मिडिया सम्मेलन

जनसम्मत
वैशाख १४, २०७६, शनिबार

पोखरा । मिडियामैत्री कानून निर्माणको मागसहित ५ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरिय मिडिया सम्मेलन सम्पन्न भएको छ ।

शुक्रबार शुरु सम्मेलन शनिबार सकिएको हो । मिडिया सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गरेको छ ।

प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप लगायतको गतिविधिलाई तत्काल रोक्न आग्रह गरिएको छ । समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारीजस्ता घटनाको सम्मेलनले निन्दा गरेकोा छ ।

यस्ता गतिविधि तत्काल बन्द गरी संविधानप्रदत्त अधिकारको रक्षा गरिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध उपभोग गर्दै नागरिक अधिकारको संरक्षण गर्न मिडियामैत्री कानून निर्माण गर्नुपर्ने मागसहितको घोषणापत्र जारी गरिएको हो ।

त्यस्तै, मिडिया सबलीकरण एवं त्यहाँ कार्यरत श्रमजीवि पत्रकारहरूको संरक्षणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न सरकारसमक्ष माग गर्दै श्रमजीवि पत्रकार ऐन लागू गर्न सम्बद्ध सञ्चारगृहहरुलाई आग्रह गर्ने घोषणापत्रमा जनाइएको छ ।

गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन, यस प्रदेशको समृद्धिका लागि पत्रकारितामा समावेशिता, यसको माध्यमबाट समृद्धि, बालमैत्री पत्रकारिता र पर्यटन प्रवद्र्धनलगायतका विषयहरूलाई उच्च प्राथमिकता दिन प्रदेश सरकारको ध्यानाकर्षण गर्ने पोखरा घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्र महासंघको प्रदेश समितिका सल्लाहकार रविन्द्र बास्तोला, सल्लाहकार नवराज सुवेदी, महासचिव गणेश पौडेल र पत्रकार महासंघ, स्याङ््जा जिल्ला अध्यक्ष ओमप्रकाश शर्माले तयार गरेका हुन् ।

मिडिया सम्मेलनको दोस्रो तथा अन्तिम दिन पर्यटन र पत्रकारिता विषयमा छलफल भएको थियो । पत्रकार केशवशरण लामिछानेले सहजीकरण गरेको छलफलमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेबीच विषयवस्तुमाथि छलफल चलाइएको थियो ।

उक्त छलफलमा पर्यटनमन्त्री लम्सालले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पत्रकारिता क्षेत्रको ठूलो भूमिका रहेको औंल्याए । पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार र जनशक्ति अभाव रहेको उनको कथन थियो । मन्त्री लम्सालले तालिम मात्रैले जनशक्ति तयार नहुने दावी गरे ।

मन्त्री लम्सालले पर्यटन विश्वविद्यालयको खाँचो औंल्याए । उनले प्रदेश सरकारले व्यवस्थित कार्ययोजना बनाएर अघि बढेको औंल्याए । पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेका कार्ययोजनामाथि विश्वास गर्न उनको आग्रह थियो ।

पर्यटन व्यवसायी विश्वशंकर पालिखेले पर्यटन र पत्रकारिता एउटै सिक्काका दुई पाटा भएको उल्लेख गरे । उनले राज्यले योजना घोषणा गर्ने र कार्यान्वयनमा उदासीनता देखाउने गरेको पालिखेको आरोप थियो ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका पालिखेले पर्यटन क्षेत्रको वास्तविक विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै पूर्वाधार विकास पनि उत्तिकै आवश्यक रहेको औंल्याए ।