पाँचौ राष्ट्रिय एनभीय भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगित

नेपाल भलिबल संघ एनभीएले शनिबार विज्ञप्ति जारी गर्दै अहिले फैलिएको (कोभिड–१९) को महामारीले गर्दा लिग अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो

जनसम्मत
वैशाख ६, २०७७, शनिबार

पोखरा । यही वैशाखको अन्तिममा आयोजना गर्ने तयारीमा रहेको पाँचौं राष्ट्रिय भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

नेपाल भलिबल संघ एनभीएले शनिबार विज्ञप्ति जारी गर्दै अहिले फैलिएको (कोभिड–१९) को महामारीले गर्दा लिग अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

लिग वैशाखको २५ देखि जेठको १ गतेसम्म हुने तय भएको थियो । एनभीएले यो कठिन समयमा सबै भलिबल स्टेक होल्डरसँग छलफल गरिरहेको जनाएको छ ।

गत माघ महिनामा काठमाडौंमा भएको पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसीपमा उत्कृष्ट भएका ८ पुरुष र ६ महिला टोलीले पाँचौं राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय थियो ।

उक्त च्याम्पियनसीपमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब र महिलातर्फ विभागीय टोली एपीएफ च्याम्पियन बनेको थियो ।

यस्तै, एनभीएले (कोभिड–१९) का कारण विभिन्न मिटिङ, साधारणसभा र अन्तर्राष्ट्रिय भलिबल क्यालेन्डर सेप्टेम्बरसम्म स्थगित भएको जनाएको छ ।