कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड दिदैं सकियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक

जनसम्मत
वैशाख ९, २०७७, मंगलवार

पोखरा । कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड दिदैं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक सकिएको छ ।

बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमण विरूद्द जारी लडाइमा सिंगो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को संयुक्त अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भएको बैठक पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्ने निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराएका थिए । त्यसपछि, अन्य नेताहरुले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भ लगायतका विषयहरुमा आ–आफ्नो धारणा राखेका थिए ।

छलफलकै बीचमा ‘राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना प्राप्त भयो’ पनि जारी विज्ञप्तिमा उल्लेख छ ।