पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिन गण्डकीको सेनिटाइजेसन टनेल प्रदान

जनसम्मत
वैशाख ९, २०७७, मंगलवार

पोखरा । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल(पिन) गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजेसन टनेल प्रदान गरेको छ ।

कोराना भाइरसको त्रास बढ्दै जाँदा पिन गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको समन्वयमा महानगरपालिकाको यान्त्रिक कार्यशालामा निर्माण गरिएको सेनिटाइजेसन टनेल पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् ।

यो टनेलले स्वचालित रूपमा काम गर्छ । मान्छे टनेलमा जाने बित्तिकै स्वचालित रूपमा सेनिटाइजर स्प्रे हुन्छ । एक जनालाई स्प्रे गर्दा करिब ६० मिलीलिटर सेनिटाइजर खर्च हुन्छ । टनेलमा रहेको २ सय लिटरको ट्याकले करिब ३ हजार ४ सय जनालाई सेनिटाइजेसन गर्न पुग्ने पिन गण्डकी प्रदेश उपाध्यक्ष महेन्द्रबहादुर गोदारले जानकारी दिए ।

टनेल निर्माण संयोजक पिन गण्डकी प्रदेश सचिव सुरेश तिमिल्सिनाले ४ दिनमा राष्ट्रिय प्रतिभा पुरस्कारबाट बिभुषित युवा वैज्ञानिक विकल्प ढुंगाना, ईन्जिनीयरहरु सुलभ तिमिल्सिना, सुनील दाहाल, टेक कटुवाल, बाबुराम भण्डारी, ध्रुव भट्टराई र विप्लप पोखरेलले २ टनेल निर्माण गरेको जानकारी दिए । उनले राज्यलाई आवश्यक पर्दा आफ्नो संपूर्ण टिम भोलेन्टियर गर्न पनि तयार रहेको स्पस्ट पारे ।

पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले कोरोनाले विश्वलाई नै आक्रान्त पारेकोले यस्ता आविष्कार विस्तार गर्नुपर्ने बताए । उनले राज्यले यस्ता ईन्जिनियर जनशक्तिको सदुपयोग गरी उनीहरुलाई उत्साहित गर्नुपर्ने उल्लेख गरे ।

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले कोभिड–१९ बारे प्रकाश पार्दै सेनिटाइजेसन टनेलको पूर्ण उपयोग गरिने उल्लेख गरे ।

पिन केन्द्रीय कमिटी सदस्य टेक कटुवालले संपूर्ण सहयोगीलाई धन्यवाद दिदै ईन्जिनियरहरु हरेक परिस्थितिमा देशका लागि अग्रपंक्तिमा रही काम गर्न तयार रहेको बताए । कठिन परिस्थितिमा काम गर्न आर्थिक तथा बजार व्यवस्थापन कठिन रहेको कोषाध्यक्ष सुमन गिरीले बताए ।

कठिन र जटिल परिस्थितिमा प्राविधिकहरू सधै अग्रस्थानमा हुनैपर्ने र रहिरहेको अबगत गराउँदै एनइएले समन्वय गरेको सभापति बाबुराम भण्डारीले बताए । निर्माणमा संलग्न  इन्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख सुनिल दाहालले लकडाउनमा महानगरपालिकाको कार्यशालामा सामान व्यवस्थापन सहज हुने भएकाले कार्य अगाडि बढाइएको जानकारी दिए ।