अनलाइनबाटै पोखरा महानगरपालिकाको न्यायिक समिति समक्ष उजुरी

जनसम्मत
वैशाख ९, २०७७, मंगलवार

पोखरा । पोखरा महानगरपालिमा अनलाइनमार्फत न्यायिक उजुरी दिन सकिने भएको छ ।

न्यायिक समिति समक्ष अनलाइन मार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउनमा रहेकोले न्यायिक समितिले अनलाइन मार्फत पीडितले उजुरी गर्नसक्ने व्यवस्था गरेको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् ।

उपप्रमुख गुरुङले बताइन, ‘न्यायिक समिति समक्ष एनएस डट पोखरामुन एड द रेट जमेल डट कम मार्फत उजुरी दर्ता गर्न सकिन्छ ।’

कोनोना रोकथाम तथा नियन्त्रण मुल समितिको बैठकले अनलाइन मार्फत उजुरी लिने निर्णय गरेको थियो । महानगर न्यायिक समितिको सोमबार बसेको बैठकले न्यायिक समिति समक्ष अनलाइन मार्फत दर्ता उजुरीको सम्बोधन गर्ने निर्णय गरेको हो ।

लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले न्यायमा सहज पहुँच बनाउन समितिले अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था मिलाएको हो ।

स्थानीय तहका विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै न्यायिक समितिको व्यवस्था गरिएको छ । संविधानको व्यवस्था अनुसार महानगरका उपप्रमुख संयोजक र २ जना सदस्य रहने व्यवस्था गरेको छ ।

न्यायिक समितिलाई १३ वटा विवादको निरुपण र ११ वटाको मेलमिलाप गराउन पाउने व्यवस्था छ ।